• १३ वैशाख २०८१, बिहिबार

डुम्रे–बेंसीशहर चामे सडक खुल्यो

blog

बेंसीशहर नगरपालिका १ उदिपुर पहिरोको विकल्पमा निर्माण गरिएको मार्ग । तस्बिरः बेलिना थापा

लमजुङ, असार ९ गते । लमजुङको बेंसीसहर नगरपालिका वडा नं. १ उदिपुरको देउराली डाँडाको सडकमा पहिरो गएपछि गत शनिबार रातीदेखि बन्द सडक खुलेको छ ।

स्थानीय प्रशासन, स्थानीय तह, प्रहरीलगायतको समन्वयमा डुम्रे–बेंसीशहर–चामे सडक योजनाले तीनदिन लगाएर करिव ३ सय मिटरको डाइभर्सन निर्माण गरेसँगै यातायात सुचारु भएको छ । शनिबार राती गएको पहिरोका कारण अवरुद्ध सडक मंगलबार राती साँढे ७ बजेदेखि संचालनमा आएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले बताउनुभयो ।

गतबर्ष पहिरो गएपछि पहिरोको माथिबाट सडकको डाइभर्सन बनाइएकोमा शनिबार रातीको भीषण बर्षासंगै आएको पहिरोले सडक पुरै बगाएको छ । गतबर्ष  करीब एक सय मिटर सडक बगाएको थियो । सडकबाट करिव तीन सय मिटरमुनी मस्र्याङ्दी नदीसम्म पहिरो चलेको छ । अहिले उदिपुरको चिप्लेटी नजिकै मध्यमस्र्याङ्दीको बाँध जाने मुल गेटबाट बाँधस्थल हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको ब्यारेक प्रवेश गर्ने बाटो सञ्चालनमा ल्याइएको छ । नेपाली सेनाको ब्यारेक कटेपछि पहिरोको मुनीबाट करिव तीन सय मिटर सडक बनाएर उदिपुरबाट दोर्दी चितीतर्फ जाने रिट्ठेबगरको सडकसँग जोड्ने गरी सडक निर्माण गरिएको डुम्रे–बेंसीसहर–चामे सडक योजना प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बताउनुभयो ।

हाल कच्ची सडक निर्माण गरिएको र यसलाई मर्मत गर्दै लाने सडक योजना कार्यालयले जनाएको छ । कच्ची सडक भएकाले तत्कालको लागि सडकलाई एकतर्फी रुपमा सञ्चालन गरिने लमजुङका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताउनुभयो । उहाँले बेंसीसहर आउने सवैखाले सवारी साधनलाई नयाँ बनाएको सडक प्रयोग गर्न र बेंसीसहरबाट जाने मोटरसाइकल तथा चार पाङग्रे जिपहरुले उदिपुर धिमिरेको बैकल्पिक बाटो प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

गतबर्ष गएको पहिरोमा अहिलेसम्म सडक निर्माण नगरेको भन्दै नागरिक तहबाट दवाव सुरु भएको छ । ठूलो पहिरो भएकाले कन्सल्ट्यान्टबाट विज्ञहरु झिकाएर अध्ययन अनुसन्धान गर्दा ढिलाई भएको र तत्काल यसको निर्माणकार्य अघि बढाइने डुम्रे–बेंसीसहर–चामे सडक योजनाले जनाएको छ । उक्त सडक समयमा निर्माण नहुँदा लमजुङको अधिकांश र सिंगो मनाङ जिल्ला प्रभावित भएको छ । 

Author
बेलिना थापा

उहाँ गोरखापत्र प्रकाशनका लागि लम्जुङ समाचारदाता हुनुहुन्छ ।