चितवन समाचारदाता
चितवन, साउन १९ गते । नारायणी नदीमा निर्माण गर्ने भनिएको ‘सिग्नेचर ब्रिज’ को अहिलेसम्म डिजाइन नै तयार हुन सकेको छैन । चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको तुँदी कन्स्ट्रक्सन प्रालिले दुई वर्ष तीन महिना पूरा हुँदासम्म डिजाइन तयार पार्न नसकेको हो । भारतीय विज्ञले डिजाइन तयार पारेर पुल महाशाखामा पेस गरेको थियो तर त्यो डिजाइनमा चित्त नबुझेपछि महाशाखाले अर्को डिजाइन पेस गर्न निर्माण कम्पनीलाई भनेको थियो । त्यसपछि चिनियाँ विज्ञको नेतृत्वमा डिजाइन पेस गर्न अध्ययन थालेकोमा विज्ञले अहिलेसम्म डिजाइन पेस गर्न सकेको छैन ।
विसं २०८० वैशाख दोस्रो साता ठेक्का पाएको तुँदी कन्स्ट्रक्सनले अहिलेसम्म पनि डिजाइनकै काम गरिरहेको छ । चार वर्षमा निर्माण सम्पन्न गर्ने गरी एक अर्ब ६८ करोड रुपियाँमा तुँदीसँग सम्झौता भएको थियो । दुई वर्ष तीन महिना बितिसक्दा पनि डिजाइन पेस गर्न नसक्दा पुल बन्ने विषयमै अन्योल भएको छ ।
सम्झौतामा १२ महिनाभित्रै पुलको डिजाइन तयार गर्ने र ३६ महिनामा निर्माण गर्ने उल्लेख गरिएको थियो । पुल महाशाखा प्रमुख ललिजन खनालले भन्नुभयो, “चीनको विश्वविद्यालयका प्रोफेसरको नेतृत्वले अध्ययन गरेर सक्नुभएको छ, असार महिनामा नै डिजाइन पेस गर्ने तयारी थियो तर अहिलेसम्म पेस गर्नुभएको छैन । सम्झौतामा साउन महिनाभित्र पेस गर्न भनिएको थियो । अझै समय माग्नुभएको छ । भदौसम्ममा पेस गर्न अन्तिम समय दिएका छौँ । पेस गर्नुहुन्छ, भन्ने विश्वास लिएका छौँ ।” उहाँले भन्नुभयो, “भदौ महिनाभित्रमा पनि पेस गर्न सक्नुभएन भने हामी कारबाहीको प्रक्रिया अगाडि बढाउने छौँ ।”
विसं २०८१ वैशाख ३१ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिग्नेचर पुलको शिलान्यास गर्नुभएको थियो । पुलको ठेक्का भने एक वर्षअघि नै लागेको थियो । सामान्य पुल नभएर आधुनिक सिग्नेचर पुल भएकाले केही समय लाग्ने पुल महाशाखा प्रमुख खनालले भन्नुभयो । “हामीले धेरै प्रयास गरिराखेका छौँ, छिटो निर्माणको प्रक्रियामा जानका लागि हाम्रो प्रयास रहेको छ,” उहाँले भन्नुभयो । पुलको डिजाइन निर्माण कम्पनीले नै गर्ने भन्ने छ । नयाँ बन्ने सिग्नेचर पुल हाल नारायणीमा सञ्चालन भइरहेको ४२० मिटर लम्बाइकै हुने छ । पुलको चौडाइ फुटपाथबाहेक साढे सात मिटर र साढे तीन मिटरको हुने छ । बिचमा २१० मिटरको दुरीमा दुइटा मुख्य पिल्लर खडा गरेर आकर्षक सिग्नेचर डिजाइनमा पुल निर्माण गरिने सम्झौतामा उल्लेख छ ।