• १९ साउन २०८२, सोमबार

कर्णाली करिडोरको हुम्ला खण्डको खच्चामा सडक अवरुद्ध

blog

डोजरले अबरुद्ध भएको सडक खुलाउने प्रयास गरिँदै । तस्बिर: राजन रावत

राजन रावत

हुम्ला साउन १९ गते । अविरल वर्षाका कारण हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध भएको छ । अविरल वर्षा हुँदा खच्चा सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।

सधैँ जसो अवरुद्ध हुने सडक यस पटकको वर्षाले पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । खच्चा सडकखण्ड अवरुद्ध हुँदा दुबै तर्फिको सवारी साधन रोकिएका छन् ।

आइतबारदेखि अवरुद्ध भएको सडक डोजर ल्याएर मर्मत गर्ने र सडक खुलाउने कार्य  भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो । वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रिने तथा बाहिरने मालबाहक ट्रक, बोलेरो जिप लगायत अन्य सवारी साधनहरु रोकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

अवरुद्ध भएको सडक नेपाल प्रहरी, स्थानीय लगायतले खुलाउने प्रयास जारी राखेका छन् । अविरल वर्षाका कारण खच्चा सडकमा पहिरो गएको हो ।

खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा पहिरो जाने र हिउँदयाममा सुख्खा पहिरो गई रहने गरेको छ । वर्षाको समय बाहेक पनि सुख्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारी साधन आउजाउमा समेत समस्या हुने गरेको छ । 

हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । कर्णाली कोरिडोरअन्तर्गतको खच्चा सडकखण्डको वैकल्पिक सडक नहुँदा सवारी साधन मात्रै नभएर यात्रुले समेत यस खण्डमा समस्या झल्दै आउनु परेको छ ।