काठमाडौँ, साउन १९ गते । डा. तारानाथ घिमिरे ‘धुर्कापानी’ को गीत ‘दिनमा पनि रातमा पनि...’ सार्वजनिक गरिएको छ। काठमाडौँमा शनिबार डीआर सिर्जना संसारद्वारा आयोजित कार्यक्रममा वरिष्ठ कवि डा. नवराज लम्सालले प्ले बटम थिचेर गीत सार्वजनिक गरेका थिए। गीतमा वरिष्ठ गायक तथा सङ्गीतकार विष्णु अधिकारीको स्वर/सङ्गीत रहेको छ। उक्त अवसरमा सुगम सङ्गीत : आस्था र अवस्था विषयक अन्तरक्रिया गरिएको थियो।
वरिष्ठ कवि डा. लम्सालले गीतमा संवेदनामा बहुकोण रहेको बताए। फूलका पाँचसात वटा फूलको बोटबाट एकएक थुंगा टिपेर संयोजन गरेजस्तो रहेको बताए। उनले भने, ‘एउटा एउटा संवेदना टिपेर गीतको सुन्दर माला बनाइएको रहेछ।’ गीतको संख्या कति रेकर्ड भयो भन्नुभन्दा गुणस्तरीय गीत कालजयी हुनुपर्छ भन्ने उनको भनाइ छ।
समीक्षक गीता डा. गीता त्रिपाठीले धुर्कापानीको गीतमा गीतमा प्रतीकात्मक अर्थ खोज्ने ठाउँ धेरै रहेको बताइन्। गीतमा अनगिन्ती रुवाइ रहेको उनको भनाइ छ। उनले भनिन्, ‘गीतमा व्यक्त रुवाइले हामी सबैको संवेदनालाई हल्लाइदिएको छ। यो गीत महारोदनको समयमा लेखिएको जस्तो लाग्छ।’ त्रिपाठीले आँसुमा एउटा विरेचनको शक्ति भएकाले पनि गीतको मर्म सामान्यभन्दा विशेष रहेको बताइन्। उनले धुर्कापानीलाई दुःखान्त गीतकारका रूपमा चिनाइन्।
संगीतकार राजु सिंहले शब्द विन्यासलाई संगीतले न्याय गरेको बताए। उनले भने, ‘गीतका शब्दलाई संगीत संयोजकले काँधमा राख्न सफल भएको देखिन्छ।’ गीतको शब्द असाध्यै राम्रो रहेको बताए। उनले भने, ‘जुन कुरा शब्दले भन्न सक्दैन, त्यो कुरा संगीतले भन्न सक्नु यसको सफलता हो।’ संगीतकार सिंहले सुगम संगीतले ठाउँ पाएन भन्ने भनाइमा आफ्नो विमति रहेको बताए। उनले गीतकार र संगीतकारले राम्रो श्रोता बटुल्न सक्नुपर्ने बताए। सिंहले गीतकार धुर्कापानी र संगीतकार अधिकारीले गीतसंगीतमा नयाँ आयाम ल्याउन सफल भएको बताए।
समाजशास्त्री एवम् विश्लेषक डा. विष्णु दाहालले सुगम संगीतको परिचय दिँदै पछिल्ला दिनमा सुगम संगीतलाई आयातीत र छाडा संगीतले प्रभाव जमाइरहेको बताए। उनले भने, ‘समाज बदलिँदै जाँदा प्रेमको प्रसंग बदलिँदो रहेछ। कथा बदलिन्छ। संगीतमा पनि फ्युजन हुँदै जाँदो रहेछ। समाज जस्तो छ, त्यहीअनुसारका श्रोता तयार हुन्छन्।’ डा. दाहालले यस्ता कुरालाई समयानुकूल बनाउने संस्थाको भने अभाव रहेको बताए। उनले भारतीयहरूले हिन्दी गीतमा नेपाली शब्द फ्युजन गरेजस्तै नेपाली गीतमा पनि त्यस्तो प्रवृत्ति भित्र्याउन सकिने बताए। सुगम संगीतमा भारतमा धेरै परिवर्तन भए पनि नेपालमा फराकिलो अध्ययन हुन नसकेको उनको भनाइ छ।
डा. दाहालले नेपालीहरू स्वतन्त्रताका नाममा स्वच्छन्द भइरहेजस्तै त्यसको असर कलासाहित्यमा पनि परेको बताए। उनले भने, ‘हामीले राजनीतिक परिवर्तन गरेर स्वतन्त्र मात्र प्राप्त गरेका छैनौँ, स्वच्छन्द भएका छौँ। त्यसैगरी संगीत पनि समाजसँगै स्वच्छन्द हुँदै गएको छ। जसलाई जे मन लाग्यो त्यही गर्ने प्रवृत्ति बढेको छ।’
उनले नयाँ पुस्ताले अघिल्लो पुस्ताको गीतसंगीतलाई अगाडि बढाउन नसकेको टिप्पणी गरे। उनले सुगम संगीतमा जति बिम्ब प्रयोग हुन्छ त्यति नै प्रभावकारी हुन्छ। डा. दाहालले लोकगीत पनि धेरै स्वच्छन्द रहेको बताए। डा. दाहालले भने, ‘यस्ता विकृत सांगीतिक भूकम्पले हाम्रा सुगम संगीतलाई हल्लाउने वाला छन्। त्यसैले यसलाई संस्थागत रूपमा अर्को पुस्तासम्म पु¥याउन सबै पक्षको पहल आवश्यक रहेको छ।
भौतिकशास्त्रका प्राध्यापक डा. राजुभाइ ट्याटले गीतको १२ पंक्तिमा व्यक्ति र प्रकृति सम्बन्धका विभिन्न सन्दर्भहरू रहेको बताए। उनले पहिला रातमा भन्ने कि दिनमा भन्ने दोधार रहेको बताए। उनले भने, ‘मान्छे धेरैका अगाडि रुँदैन। ऊ रातमा रुन्छ। गीतमा पहिला रातमा भनेर पछि दिनमा भन्ने हो कि?’ यसैगरी यी आँखालाई ती आँखाले भन्नुभन्दा पहिला ती आँखाले भन्न सकिने सुझाव दिए।
संगीतकार एवम् गायक विष्णु अधिकारीले धेरै पटकको प्रयासमा गरिएको संगीत संयोजन गरेपछि धुर्कापानीको गीत तयार भएको बताए। उनले गीतकारसँग बसेरै संगीत संयोजन गर्दाको रोचक अनुभव सुनाए।
गीतकार डा. घिमिरेले गीतसंगीतमा केही परिचर्चा गरियो भने केही योगदान पुग्छ कि भनेर यस्तो कार्यक्रम आयोजना गरिएको बताए। उनले भने, ‘सुगम संगीतलाई टेवा पु¥याउने आफ्नो उद्देश्य हो।’ त्रिवि पाटन संयुक्त क्याम्पसका राजनीतिशास्त्रका प्राध्यापक डा. घिमिरेका गीत र गजल प्रकाशित छन्। अनुसन्धानमा विशेष रुचि राख्ने घिमिरेका विभिन्न जर्नलहरूमा अनुसन्धानमूलक सामग्री प्रकाशित छन्।