• १९ साउन २०८२, सोमबार

पुरस्कार रकम योग संस्थालाई प्रदान

blog

गोरखापत्र समाचारदाता

भक्तपुर, साउन १९ गते ।  कवि तथा कथाकार अभय श्रेष्ठले आफ्नो कविता कृति ‘लहना र तीर’ का लागि प्राप्त साहित्य सङ्गम मकवानपुर कृति सम्मानको रकम पातञ्जल योग समिति (पायोस) नेपाललाई प्रदान गर्नुभएको छ । भक्तपुरको गुन्डुमा शनिबार आयोजित गुन्डु योग साधना केन्द्रको सातौँ वार्षिकोत्सव कार्यक्रममा श्रेष्ठले सम्मानबापत् प्राप्त २५ हजार रुपियाँ पायोस नेपालका अध्यक्ष बालमुकुन्द सुवाल, वरिष्ठ उपाध्यक्ष नवराज काफ्लेलगायतको उपस्थितिमा कोषाध्यक्ष गीताप्रसाद नेपाललाई हस्तान्तरण गर्नुभयो ।

 साहित्य सङ्गम मकवानपुरले श्रेष्ठको कृति ‘लहना र तीर’ लाई २०८०–८१ सालमा प्रकाशित नेपाली कवितासङ्ग्रहमध्ये सर्वोत्कृष्ट ठहर्‍याई गत जेठ १० गते हेटौँडामा यो सम्मान प्रदान गरेको थियो । ‘लहना र तीर’ बुकहिलले २०८० सालमा छापेको हो । साहित्य सङ्गम मकवानपुर कृति सम्मान हेटौँडाका कवि केशव श्रेष्ठ ‘ज्योति’ ले स्थापना गर्नुभएको हो । श्रेष्ठले यो रकम पायोस नेपालको भवन निर्माणका लागि सहयोगस्वरूप प्रदान गरेको बताउनुभयो । पायोस नेपालको भवन भक्तपुरको चाँगुनारायण नगरपालिका अन्तर्गत ताथलीमा निर्माणाधीन छ । श्रेष्ठ योग प्रशिक्षक र पायोस नेपाल केन्द्रीय समितिका सल्लाहकार हुनुहुन्छ ।

रोग लागेर आफ्ना मातापिता अल्पायुमै बितेको उल्लेख गर्दै श्रेष्ठले अकालमा कसैले जीवन गुमाउनु नपरोस् भन्ने कामनासहित यो रकम योग संस्थालाई प्रदान गरेको उल्लेख गनुभयो । श्रेष्ठले यसअघि साझा प्रकाशनद्वारा स्थापित गरिमा गद्य सम्मान–२०६९ को राशि पनि आर्थिक रूपले धराशायी रहेको साझा प्रकाशनलाई नै फिर्ता गर्नुभएको थियो । गरिमा मासिकमा वर्षभरिमा प्रकाशित गद्यमध्ये श्रेष्ठको कथा ‘भुइँचालो’ लाई उत्कृष्ट ठहर्‍याई गरिमा गद्य सम्मान–२०६९ प्रदान गरिएको थियो ।

पातञ्जल योग समिति नेपाल योग साधक बालमुकुन्द सुवालको पहलमा २०७५ सालमा स्थापना भएको हो । मौलिक पाठ्यक्रमसहित हाल यस संस्था अन्तर्गत देशभरि साधना केन्द्र खुलेका छन् ।