• १९ असार २०८१, बुधबार

संवैधानिक नियुक्तिविरुद्ध रिटमा आज सुनुवाइ हुँदै

blog

काठमाडौं, असार ८ गते । सर्वोच्च अदालतमा बुधबार संवैधानिक नियुक्तिविरुद्ध रिटमा सुनुवाइ हुँदैछ । संवैधानिक नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, समृत खरेल र कीर्तिनाथ शर्मा पौडेलले दायर गर्नुभएको रिटमा आज सुनुवाइ हुन लागेको हो ।

उक्त रिटमा सुनुवाइका लागि बुधबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास गठन गरिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्याविधि परिवर्तन गरी विभिन्न संवैधानिक नियुक्ति गरेको थियो । उक्त नियुक्ति दिइएको भन्दै २०७७ मङ्सिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मङ्सिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

अध्यादेशबाट ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसकै आधारमा भएको नियुक्ति बदर गर्न माग गर्दै उहाँरुले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

उक्त रिटमा पछिल्लो पटक २०७८ चैत ९ गते दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासबाट कारण देखाउ आदेश जारी भएको थियो ।