डा. अभिषेक ताम्राकार
पूर्वीय सभ्यताका अनुपम देनमध्येमा पर्दछ आयुर्वेद । आयुर्वेद केवल एक चिकित्सा पद्धति मात्र नभएर एक सम्पूर्ण जीवन विज्ञान हो । यस विज्ञानले केवल मानिसको स्वास्थ्यका बारेमा मात्र कुरा गर्दैन, मानिसलाई जीवन जिउने कला, जीवनशैली, दिनचर्या, ऋतुचर्या आदि आयामका बारेमा समेत मार्गदर्शन गर्दछ ।
आयुर्वेदको मुख्य उद्देश्य भनेको रोगीको रोगको निवारण र स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु हो । यो उद्देश्य मुख्यतः दुई प्रकारको चिकित्साकर्मबाट प्राप्त गर्न सकिन्छ– संशमन र संशोधन ।
रोगअनुसार विभिन्न प्रकारका औषधिको प्रयोग गरेर विकृत भएका दोषलाई प्राकृतिक अवस्थामा ल्याउने प्रक्रिया संशमन चिकित्सा हो । यो नेपालमा प्रायः गरिने कर्ममा पर्दछ । यसमा चिकित्सकले रोगअनुसारका विभिन्न जडीबुटी, खनिज आदिबाट बनेका औषधि प्रयोग गरेर रोग निको पार्छन् ।
त्यसैगरी विकृत भएका दोषलाई शरीरबाट बाहिर निकालेर शरीरलाई दोषबाट मुक्त गरेर प्राकृतिक र स्वस्थ अवस्थामा ल्याउने प्रक्रिया संशोधन हो ।
आयुर्वेद प्राचीनतम् चिकित्सा प्रणाली हो र हाम्रो समाजको एक अभिन्न अङ्ग पनि भएको छ ।
नेपालमा युगौँदेखि आयुर्वेद उपचार पद्धति चलिआएको छ । धेरै शताब्दीसम्म यसले मूल र प्रधान स्वास्थ्य प्रणालीका रूपमा आफूलाई स्थापित र सिद्ध गरेको छ तथा नेपाल सरकारले पनि यसलाई नेपालको राष्ट्रिय चिकित्सा प्रणाली मानिआएको छ । यसका अतिरिक्त आयुर्वेद जानिँदो, नजानिँदो पाराले हाम्रो संस्कार र संस्कृतिको अभिन्न अङ्ग भइसकेको छ । जसको फलस्वरूप यस चिकित्सा पद्धतिमाथि मानिसको धेरै विश्वास छ ।
यति हुँदाहुँदै पनि आयुर्वेदका बारेमा जनमानसमा केही यस्ता धारणा र भ्रम छन् । जुन वास्तविकताभन्दा भिन्न वा टाढा छन् र तिनको आयुर्वेदिक अभ्याससँग कुनै नाता छैन ।
आयुर्वेदसम्बन्धी केही मिथक
आयुर्वेदीय औषधि भनेको मात्र जडीबुटी औषधि हो ।
यस भनाइमा केही सत्यता छ तर यो पूर्ण सत्य होइन । आयुर्वेदीय औषधिहरू धेरैजसो जडीबुटीबाट बनेका हुन्छन् । विभिन्न प्रकारका औषधिजन्य वनस्पतिको फल, पुष्प, निर्यास, बोक्रा, मुना, पालुवा, जरा आदिको प्रयोग गरेर आयुर्वेदीय औषधि बनाइन्छ तर यसका अतिरिक्त आयुर्वेदीय औषधिको निर्माणमा विभिन्न प्रकारका खनिज द्रव्य जस्तै स्वर्ण (Gold), फलाम (Iron), अभ्रक (Mica) आदि तथा विभिन्न प्रकारका जनावर, जलीय र सामुद्रिक प्राणीहरू जस्तै शङ्ख, मोती, कपर्दक (कौडी) आदिको पनि प्रयोग गरिन्छ ।
त्यसैले आयुर्वेदीय औषधि भनेको केवल जडीबुटी मात्र नभएर अन्य द्रव्यको प्रयोग गरेर बनाएको औषधि पनि बुझिन्छ ।
आयुर्वेदीय औषधि जसले खाए नि हुन्छ ।
साधारणतया नेपाली समाजमा आयुर्वेदीय औषधि जसले खाए पनि हुन्छ भन्ने विश्वास छ । फलानो व्यक्तिले यो औषधि खाएर फाइदा भयो, तिमी पनि खाऊ भनी सुझाव दिने मानिसको यस समाजमा कमी छैन । झन् आयुर्वेदीय औषधिमा त यस्तो धारणा अझ धेरै पाइन्छ । वास्तवमा कुनै पनि आयुर्वेद चिकित्सकले आयुर्वेदीय औषधि दिँदा धेरै पक्षलाई ध्यान दिएर र नियालेर बिरामीलाई सिफारिस गर्छन् ।
रोगको पहिचान गरेपछि बिरामीको प्रकृति, मानसिक अवस्था, सत्तव, आहारशक्ति, सार आदि पक्षको परीक्षा गरेर मात्र औषधि दिने गर्छन् । यसरी प्रत्येक व्यक्ति अर्को व्यक्तिभन्दा भिन्न हुन्छ र समान समस्या भए पनि अर्को व्यक्तिलाई दिने औषधि एकदम फरक वा भिन्न हुन सक्छ । त्यसैले एउटा व्यक्तिले सेवन गरेको औषधि अर्को व्यक्तिले चिकित्सकको सल्लाहबिना खानु हुँदैन ।
आयुर्वेदीय औषधिसम्बन्धी एउटा अर्को धारणा के छ भने आयुर्वेदीय औषधि बिग्रिँदैन, जति पुरानो औषधि भयो त्यति नै राम्रो हो ।
आयुर्वेदीय औषधिको साइड इफेक्ट (दुष्प्रभाव) हुँदैन ।
अर्को असाध्यै गलत धारणाचाहिँ आयुर्वेदीय औषधिको नकारात्मक प्रभाव हुँदैन भन्ने हो । त्यसैले आयुर्वेदीय औषधिको जथाभावी प्रयोग हुने गरेको छ । यस्तो धारणा अहिले मात्र नभएर पहिलेदेखि नै थियो । आयुर्वेदको प्राचीनतम् र महìवपूर्ण ग्रन्थ चरक संहितामा पनि कुनै पनि औषधि सही तरिका वा नियमसङ्गत रूपमा प्रयोग गरिएन भने नकारात्मक असर गर्छ भनेर उल्लेख गरिएको छ ।
जथाभावी प्रयोग गरिएको औषधिको तुलना त्यसमा विष, अग्नि, शस्त्र र असनि (चट्याङ)सँग गरिएको छ । त्यसैले आयुर्वेदीय औषधिहरू पनि सही तरिका र नियमपूर्वक सेवन गरेमा न्यून नकारात्मक असर देखापर्छ । हामीले के बुझ्न जरुरी छ भने कुनै पनि वस्तु आवश्यकताभन्दा धेरै वा अनावश्यक रूपमा सेवन वा प्रयोग गर्दा त्यसले त्यसको निश्चित उद्देश्य प्राप्त गर्न सक्दैन तथा कुनै न कुनै रूपमा नकारात्मक प्रभाव देखाउन सक्छ । औषधि भनेको मकै, भटमास होइन । मकै भटमास त आवश्यक र आफ्नो क्षमताभन्दा बढी सेवन ग-यौँ भने त त्यसले पेट बिगार्छ भने औषधि त त्योभन्दा बढी कार्यक्षमता र क्षेत्र भएको हुन्छ ।
आयुर्वेदीय औषधि चिकित्सकसँग सल्लाह नगरी खान हुन्छ ।
नेपाली समाजमा जब आयुर्वेदीय औषधिको कुरा आउँछ सबै जना एक से एक जान्ने हुन्छौँ । हामी आफैँ चिकित्सक, आफैँ बिरामी बन्छौँ । हामी अरूलाई आफूले खाएको औषधिको अनुभवको आधारमा औषधीय सल्लाह दिन्छौँ । अरूले खाएको देखेको भरमा नै औषधि प्रयोग गर्ने गर्दछौँ वा सिधै औषधि पसलमा गएर फलानो रोगका लागि औषधि वा सिधै फलानो औषधि भनेर मागेर प्रयोग गर्ने गर्दछौँ ।
चिकित्सकसँग सल्लाह गरेर औषधिको प्रयोग गर्ने थोरै मात्र हुन्छाैँ । हामीले के बुझ्नु जरुरी छ भने कुनै पनि आयुर्वेदीय औषधिको प्रयोग धेरै रोग र अवस्थामा गर्न सकिन्छ । जस्तै त्रिफला चूर्ण विशेष रूपमा कब्जियतको औषधिका रूपमा चिनिन्छ । यो मधुमेहको औषधि पनि हो भन्ने थोरैलाई जानकारी छ । यही त्रिफला आँखा रोगको पनि राम्रो औषधि हो तर प्रयोग गर्ने तरिका चाहिँ भिन्न छ ।
आफैँले रोगको सही पहिचान गर्न सकिँदैन र रोग अवस्थाको पनि ज्ञान हुँदैन । आफ्नै हिसाबले सेवन र प्रयोग गरिएका औषधिले प्रयोग गर्ने व्यक्तिलाई फाइदाभन्दा बेफाइदा गर्ने सम्भावना धेरै हुने गर्दछ । त्यसैले जहिले पनि कुनै पनि औषधिको प्रयोग चिकित्सकको सल्लाह र रेखदेखमा मात्र सेवन गर्न‘पर्छ ।
माथि भनिएजस्तै एउटा आयुर्वेद चिकित्सकले कुनै बिरामीको विभिन्न पक्षलाई हेरेर तथा विभिन्न आधारमा परीक्षा र जाँच गरेर मात्र औषधि सिफारिस गर्ने गर्दछन् । यसरी प्रयोग गरिएका औषधिले माथि भनिएजस्तै नकारात्मक असर गर्दैनन्, रोग र समस्या निको हुन्छन् ।
परम्परागत वैद्य र आयुर्वेद चिकित्सक सबै एउटै हुन् ।
आयुर्वेद प्राचीनतम् चिकित्सा प्रणाली हो र यो हाम्रो समाजको एक अभिन्न अङ्ग पनि भएको छ यो । त्यसैले हाम्रो समाजमा रहेका अनेक परम्परागत वैद्य र झारफुक गर्ने व्यक्तिलाई पनि आयुर्वेद चिकित्सक नै हुन् कि भन्ने धारणा छ । यो धारणा गलत हो । परम्परागत वैद्य भनेका पारिवारिक रूपमा पुस्तौँदेखि चिकित्सा व्यवसाय गरेर बसेका व्यक्ति हुन् ।
उनीहरूले आफ्ना बुबा–बाजेबाट नै चिकित्सा गर्ने तरिका सिकेका हुन्छन् । धेरैजसोले आयुर्वेदको औपचारिक ज्ञान र अध्ययन गरेका हुँदैनन् । नेपालको कानुनले यसरी पुस्ताँैदेखि चिकित्सा व्यवसाय गरेका व्यक्तिलाई आयुर्वेद चिकित्सकका रूपमा परिभाषित गर्दैन । आयुर्वेद चिकित्सक भनेका १०+२ वा आयुर्वेदमा प्रमाणपत्र तह उत्तीर्ण गरेपछि साढे पाँच वर्षको बी ए एम एस -(Bachelor in Ayurvedic Medicine And Surgery) डिग्री वा सोभन्दा माथिको एम डी (MD) वा विद्यावारिधि (PhD) उत्तीर्ण गरेर नेपाल आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएको स्वास्थ्यकर्मी बुझिन्छ ।
आयुर्वेदले विशेष रूपमा आहार र विहार वा जीवनशैलीलाई धेरै महत्त्व दिएको हुन्छ । किनभने चिकित्साको पहिलो सिद्धान्त नै रोगको कारणलाई हटाउनु वा कारणदेखि टाढा बस्नु हो ।
बाटोमा बसेर औषधि वा जडीबुटी बेच्ने व्यक्ति आयुर्वेद चिकित्सक वा स्वास्थ्यकर्मी होइनन् । यसका साथै विभिन्न सञ्चारमाध्यममा आफूलाई चिकित्सक वा जडीबुटीविज्ञ वा अनुभवले सिकेको भन्नेहरू सबैले हामीलाई ठगी राखेका छन् । उनीहरू आयुर्वेद चिकित्सक होइनन् ।
आयुर्वेदीय औषधि कहिल्यै पनि बिग्रिँदैन ।
आयुर्वेदीय औषधिसम्बन्धी एउटा अर्को धारणा के छ भने आयुर्वेदीय औषधि बिग्रिँदैन, जति पुरानो औषधि भयो त्यति नै राम्रो हो । आयुर्वेदीय औषधिहरू विभिन्न वनस्पतिबाट बनेका हुन्छन्, त्यसबाहेक खनिज र जनावर तथा सामुद्रिक प्राणीबाट पनि बनेका हुन्छन् । यसरी बनेका औषधिमा केही समयको अन्तरालमा तिनको घटक द्रव्यहरूको गुणमा परिवर्तन हुन्छ र कार्य गर्ने क्षमतामा ह्रास आउँछ । त्यसैले आयुर्वेदीय औषधिको पनि उपयोग गर्ने निश्चित अवधि हुन्छ । त्यो अवधिपश्चात् सो औषधि एक्स्पाएर हुन्छ र प्रयोग गर्न अयोग्य हुन्छ ।
आयुर्वेदीय औषधि सेवन गर्दा पूर्ण शाकाहारी भोजन सेवन गर्नुपर्छ ।
धेरैजसो व्यक्तिमा के धारणा पाइन्छ भने आयुर्वेदीय औषधि प्रयोग गर्दा शाकाहारी भोजनको सेवन गर्नु अनिवार्य छ । आयुर्वेदले विशेष रूपमा आहार र विहार वा जीवनशैलीलाई धेरै महत्त्व दिएको हुन्छ । किनभने चिकित्साको पहिलो सिद्धान्त नै रोगको कारणलाई हटाउनु वा कारणदेखि टाढा बस्नु हो । आयुर्वेदले यही आहार र जीवनशैलीमा हुने परिवर्तन वा गडबडीलाई रोगको कारण मानेको छ ।
त्यसैले आहार र जीवनशैलीसम्बन्धी सल्लाह हरेक आयुर्वेद चिकित्सकले दिने गर्दछन् तर पूरै शाकाहारी भोजन नै गर्नुपर्छ भन्ने छैन । रोगको प्रकृति, रोगीको अवस्था र आवश्यकताअनुसार नै चिकित्सकले मांसाहार गर्न सल्लाह दिन्छन् । मांसाहार कुनै रोगको औषधि नै हुने गर्दछ ।
आयुर्वेदमा शल्यकर्म वा चिकित्सा हुँदैन ।
पहिले भनेजस्तै आयुर्वेद भनेको जडीबुटी मात्र हो भन्ने समाजमा आयुर्वेदमा शल्यकर्म वा शल्यचिकित्सा हुँदैन भन्ने धारणा छ । वास्तवमा आधुनिक चिकित्सा विज्ञानले शल्यकर्मको बारेमा कल्पना गर्नुभन्दा हजारौँ वर्ष अगाडि नै आयुर्वेदमा शल्यकर्म हुने गर्दथ्यो ।
अहिले हामीले सुन्ने गरेको प्लास्टिक सर्जरीको जन्मदाता आयुर्वेद शल्यकर्मका प्रणेता आचार्य सुश्रुत हुन् । अहिले पनि आयुर्वेदमा शल्यकर्मको विशेषज्ञता हुने गर्दछ । जसअन्तर्गत शल्य चिकित्साका अतिरिक्त क्षारकर्म, क्षारसूत्र, अग्निकर्म, जलौका (जुका) आदिको प्रयोग गरी विभिन्न रोगको सफल उपचार गरिन्छ ।
आयुर्वेदमा विभिन्न विधामा विज्ञता हुँदैन ।
अर्को धारणा भनेको आयुर्वेदमा विशिष्ट सेवा वा विज्ञता हुँदैन भन्ने हो । वास्तवमा आयुर्वेदमा विभिन्न विधामा विज्ञता हुन्छ । हाल १५ विषयमा विशेषज्ञताको अध्ययन हुने गर्दछ । शल्य तन्त्र, नाक, कान, घाँटी तथा नेत्र रोग, स्त्री र प्रसूति रोग, बालरोग, कायचिकित्सा आदि विषयमा विज्ञता हुने गर्दछ । विभिन्न प्रणालीका रोगका लागि भिन्दाभिन्दै विशेषज्ञ आयुर्वेदमा पनि उपलब्ध छन् ।