चीन र भारतसमेत ‘ग्रेगोरियन क्यालेन्डर’ आधिकारिक रूपमा प्रयोग गर्छन् । ‘ग्रेगोरियन क्यालेन्डर’ आधिकारिक रूपमा प्रयोग नगर्ने पाँच देश हुन्– साउदी अरब, इरान, अफगानिस्तान, इथियोपिया र नेपाल । साउदी अरेब, इरान र अफगानिस्तानले मुस्लिम धर्मावलम्बीको चन्द्रवर्षमा आधारित क्यालेन्डरलाई औपचारिक क्यालेन्डर मान्छन् ।
दक्षिण कोरियाले सन् २०२४ मा आफ्ना नागरिकको उमेर गणना गर्ने पद्धतिलाई सरलीकरण गर्यो । यसअघि दक्षिण कोरियामा कुनै पनि व्यक्तिको उमेर गणना गर्दा तीन प्रकारले गरिन्थ्यो । पहिलो तरिका– प्रायः सबै देशमा चलिआएको अन्तर्राष्ट्रिय पद्धति अनुरूप । यस अनुसार कुनै पनि व्यक्तिको उमेर हरेक वर्ष उसको आउँदो जन्ममितिमा एक वर्षले बढ्ने । दोस्रो तरिका थियो– कोरियाली पद्धति । यस अनुसार कुनै पनि बच्चा जन्मनेबित्तिकै उसको उमेर एक वर्षको हुने र प्रत्येक नयाँ वर्षको जनवरी १ मा अर्को एक वर्षले थपिँदै जाने । तेस्रो तरिका थियो– चिनियाँ पद्धति । यस अनुसार बच्चा जन्मेको मिति जुनसुकै भए पनि आउँदो वर्षको नयाँ वर्षको दिन जनवरी १ मा एक वर्षको हुने अनि हरेक आउँदो वर्षको नयाँ वर्षको दिन जनवरी १ मा उमेरमा अर्को एक वर्षले थपिँदै जाने ।
यी तीन वटै पद्धति दक्षिण कोरियाको सामाजिक र आधिकारिक रूपमा प्रचलनमा हुँदा अन्योल त हुने नै भयो । उदाहरणका लागि दक्षिण कोरियाको प्रसिद्ध गायक पार्क जेइ साङको उमेर गणनालाई लिन सकिन्छ । गायक साङको सन् २०१२ को र्याप गीत ‘गङ्ग मन स्टाइल’ विश्वकै चर्चित गीत हो; जुन अहिले पनि नेपाललगायत विश्वका धेरै देशमा डिस्को, विवाह र अन्य पार्टीहरूमा घन्किन्छ । यो गीत युट्युबमा एक अरब भ्यु छुने पहिलो गीत हो । गायक साङको जन्म ३१ डिसेम्बर १९७७ मा भएको हो । अब आउँदो १ जनवरी २०२६ मा साङको उमेर अन्तर्राष्ट्रिय पद्धति अनुसार ४९ वर्ष, चिनियाँ पद्धति अनुसार ५० वर्ष र कोरियाली पद्धति अनुसार ५१ वर्षको हुन्छ । एकै व्यक्तिको एउटै मितिमा तीन प्रकारले उमेर गणना हुन सक्ने र विभिन्न सामाजिक कार्य र सरकारी कार्यमा फरक फरक उमेर गणना गरिनाले दक्षिण कोरियामा अलमल र अनावश्यक आर्थिक झन्झट पर्ने भएकाले कोरियाली सरकारले आफ्ना जनताको उमेर गणना गर्ने तरिकालाई सरलीकरण गर्ने निर्णय लियो ।
नेपालमा पनि यस्तै प्रकारको अलमल छ । हामीकहाँ तीन प्रकारका क्यालेन्डर प्रचलनमा छ । पहिलो– पञ्चाङ्ग वा पात्रो । दोस्रो– नेपाली क्यालेन्डर, जसलाई विक्रम संवत पनि भनिन्छ । तेस्रो– अङ्ग्रेजी क्यालेन्डर । प्रत्येक क्यालेन्डर अनुसारको दिनाङ्कलाई जनजिब्रोले तीन प्रकारले सम्बोधित गर्छ । तिथि, मिति र गते । बहुसङ्ख्यक हिन्दु नेपालीको सामाजिक र धार्मिक कार्य ‘तिथि’ अनुसार चल्छ । अन्तर्राष्ट्रियसम्बन्धी कार्य र देशभित्र पनि विभिन्न खालका सेवा प्रदान गर्ने निकाय जस्तै– बैङ्किङ, राहदानी, स्वास्थ्य, शिक्षामा अङ्ग्रेजी क्यालेन्डर अनुसारको ‘मिति’ प्रयोग हुन्छ । सरकारी सेवामा औपचारिक क्यालेन्डरका रूपमा नेपाली क्यालेन्डर अनुसारको ‘गते’ को प्रयोग हुन्छ ।
क्यालेन्डरहरूलाई तीन प्रकारले छुट्याउन सकिन्छ । पहिलो– पृथ्वीको सापेक्षमा सूर्यको गति र स्थान अनुसार गणना गरिएको सौर्य क्यालेन्डर । दोस्रो– चन्द्रमाको गति र स्थान अनुसार गणना गरिएको चन्द्र क्यालेन्डर । तेस्रो– सूर्य र चन्द्र दुवैको गति र स्थान अनुसार गणना गरिएको चन्द्र–सौर्य क्यालेन्डर ।
हामीले मिति, तारिख वा अङ्ग्रेजी क्यालेन्डर भनेर चिन्ने क्यालेन्डर इस्वी संवत् हो । यो सौर्य क्यालेन्डर हो । हुन त यो ‘ग्रेगोरियन क्यालेन्डर’ हो तर अङ्ग्रेजहरूले यो क्यालेन्डर भारत भित्र्याएकाले होला, हामीकहाँ ‘ग्रेगोरियन क्यालेन्डर’ लाई अङ्ग्रेजी क्यालेन्डर भन्ने चलन छ । यो क्यालेन्डरलाई १२ महिनामा भाग लगाइएको हुन्छ र प्रत्येक महिनामा २८ देखि ३१ दिन हुन्छ । यो क्यालेन्डर जम्मा ३६५ दिनको हुन्छ तर वर्षको सङ्ख्यालाई ४ अङ्कले भाग जाने भए त्यो वर्षलाई ‘लिप वर्ष’ भनिन्छ र ‘लिप वर्ष’ को फेब्रुअरी महिनामा एक दिन थप जोडिन्छ । ‘लिप वर्ष’ को अपवाद भनेको ४ अङ्कले भाग गए पनि १०० अङ्कले भाग जानु हुँदैन । अपवादमा भने सो वर्ष ४०० अङ्कले भाग गएमा ‘लिप वर्ष’ नै मानिन्छ ।
यस क्यालेन्डरको सुरुवात रोमन सम्राट् जुलियस सिजरले इसापूर्व ४६ वर्षअगाडि गरेको मानिन्छ । यस क्यालेन्डरलाई धेरैपछि इसं १५८२ अक्टोबरमा पोप ग्रेगोरी १३ औँ ले परिमार्जन गरेकाले यसलाई ‘ग्रेगोरियन क्यालेन्डर’ भन्ने गरिन्छ । ‘ग्रेगोरियन क्यालेन्डर’ मा बिसी र एडी भन्ने चलन थियो । यो चलन जिसस क्राइस्टको जन्मसँग सम्बन्धित छ । बिसी भन्नाले ‘बिफोर क्राइस्ट’ अर्थात् जिसस क्राइस्ट जन्मनुअघिको समयलाई लिइन्छ । अहिले यस नामकरणलाई ‘बिफोर कमन एरा’ (बिसिई) भन्ने गरिन्छ । त्यस्तै जिसस क्राइस्ट जन्मेपश्चात्को समयलाई ‘अन्ना डोमिनो’ (एडी) भनिन्थ्यो । हाल यो नामकरणलाई ‘कमन एरा’ (सिई) भनिन्छ । ‘अन्ना डोमिनो’ (एडी) को सुरुवात सातौँ शब्तादीमा डेनिस्यु नामक पादरीले गरेका थिए । डेनिस्युले क्रिस्चियन धार्मिक पर्व इस्टरको व्यवस्थित रूपमा गणना गर्न यस पद्धतिको विकास गरेका थिए । उनले जुलियन क्यालेन्डरको सुरुवात जिसस क्राइस्टको जन्मदिनबाट सुरु गरेका थिए । जिसस क्राइस्टको जन्म २५ डिसेम्बरको दिन मानिन्छ, जसलाई क्रिस्चियन धर्मावलम्बीले क्रिसमस भनेर मनाउँछन् । जिसस क्राइस्ट जन्मले यहुदी थिए । यहुदीको मान्यता अनुसार बच्चा जन्मेको सातौँ दिनमा बच्चाको खतना गरेपछि मात्र बच्चा जन्मेको मानिन्छ । यसकारण जिसस क्राइस्टको जन्म २५ डिसेम्बरमा भए पनि त्यसको सातौँ दिन अर्थात् जनवरी १ देखि ‘ग्रेगोरियन क्यालेन्डर’ सुरु भएको मानिन्छ ।
‘ग्रेगोरियन क्यालेन्डर’ संसारका पाँच देशबाहेक विश्वका प्रायः सबै देशले आधिकारिक रूपमा प्रयोग गर्छन् । चीन र भारतले समेत ‘ग्रेगोरियन क्यालेन्डर’ आधिकारिक रूपमा प्रयोग गर्छन् । यो क्यालेन्डर आधिकारिक रूपमा प्रयोग नगर्ने पाँच देश हुन्– साउदी अरब, इरान, अफगानिस्तान, इथियोपिया र नेपाल । साउदी अरेब, इरान र अफगानिस्तानले मुस्लिम धर्मावलम्बीको चन्द्रवर्षमा आधारित क्यालेन्डरलाई औपचारिक क्यालेन्डर मान्छन् । इथियोपियाले ‘ग्रेगोरियन क्यालेन्डर’ को अर्को प्रारूपलाई औपचारिक रूपमा लिन्छ ।
नेपालमा चल्ने दोस्रो क्यालेन्डर हो, तिथि क्यालेन्डर । नेपाली जनजिब्रोले पात्रो वा तिथि क्यालेन्डर भन्ने पञ्चाङ्गका आधारमा नेपालका बहुसङ्ख्यक हिन्दु नेपालीको सामााजिक र धार्मिक कार्य चल्दछ ।
पञ्चाङ्ग भन्नाले पाँच अङ्ग यी हुन्–
– तिथि अर्थात् चन्द्र दिन वा चन्द्रमाको पाक्षिक गतिविधि । तिथि भन्नाले चन्द्रमालाई राशि चक्रमा रहेको सूर्यको सापेक्षमा १२ डिग्री दुरी तय गर्न लाग्ने समय जनाउँछ ।
– नक्षत्र अर्थात् चन्द्रमा विद्यमान रहने तारा समूह
– योग अर्थात् चन्द्र–सौर्य दिन जसलाई चन्द्र र सूर्यको कोणीय दुरीमा आधारित गरी गणना गरिन्छ । योग जम्मा २७ वटा चन्द्र–सौर्यका प्रकारहरू हुन्; जसले चन्द्रमा र सूर्यको अन्तर्क्रियाको प्रकार र प्रभाव दर्साउँछ ।
– कर्ण अर्थात् तिथिको आधा र
– बार– हप्ताको दिन ।
पञ्चाङ्ग एक चन्द्र–सौर्य क्यालेन्डर हो । पञ्चाङ्गमा सूर्यको गति र स्थानका आधारमा ऋतुहरूको निश्चय हुन्छ । चन्द्रमाको गति र स्थानका आधारमा महिना निर्धारण हुन्छ । चन्द्रवर्षका महिनाहरू चन्द्रमाको मासिक पाक्षिक गतिविधिमा आधारित हुन्छ । चन्द्रमाका पूर्ण पक्षहरू जम्मा करिब २९ १/२ दिनको हुन्छ । त्यस हिसाबले चन्द्रवर्ष जम्मा ३५४.३६७ दिनको हुन आउँछ । त्यसकारण पूर्ण चन्द्रवर्ष सूर्यवर्षभन्दा ११ वा १२ दिन छोटो हुन आउँछ । पञ्चाङ्गमा दुवै वर्षको गणितीय हिसाबले मिलान गरिएको छ; जस अनुसार चन्द्रमाको एक पूर्ण परिक्रमा हुँदा एक महिना मानिन्छ । महिनाको नामकरण चाहिँ पूर्णिमा भएको बेला चन्द्रमा कुन नक्षत्रमा छ भन्ने आधारमा हुन्छ । उदाहरणका लागि पूर्णिमाको बेला चन्द्रमा पुस्य नक्षत्रमा छ भने महिनाको नाम पौष हुन्छ । यस्तै चन्द्र पूर्णिमा चित्रा नक्षत्रमा छ भने चन्द्रमानको नाम चैत्र हुन्छ । अघि भने झैँ चन्द्रवर्षमा जम्मा दिनगन्ती ३५४.३६७ हुन्छ भने सूर्यवर्षमा जम्मा ३६५/३६६ दिन हुन्छ । यो ११ वा १२ दिनको फरकलाई प्रत्येक तीन वर्षमा मिलान गरिन्छ । यो मिलान कहिले र कसरी गर्ने खौगोलिक गणितीय तरिका अवलम्बन गरिन्छ । चन्द्रमाले पूर्ण परिक्रमा गर्दा सूर्यले पनि आफ्नो राशि बदल्छ । जब चन्द्रमाको पूर्ण पाक्षिक परिक्रमा गर्दा पनि सूर्यको राशि बदलिँदैन भने त्यसलाई अधिक मास वा मलमास वा पुरुषोत्तम महिना भनिन्छ ।
पञ्चाङ्ग एक सनातन क्यालेन्डर मात्र नभई अद्वितीय खगोल गणितीय विज्ञान पनि हो । पञ्चाङ्गका आधारमा विभिन्न शासकले समय समयमा आफ्नो संवत् चलाएका थिए । त्यसमध्ये विक्रम संवत् र शालिवाहिनीय शाके उल्लेखनीय छ । चन्द्र–सौर्य पञ्चाङ्गमा आधारित विक्रम संवत् भारतका विभिन्न प्रान्तमा अद्यापि प्रचलनमा छ ।
विक्रम संवत् कसले चलाएका हुन् भन्ने कुरामा इतिहासकार र पुरातत्वविद्ले यकिनसाथ भन्न सकेका छैनन् । भारतको उज्जैनका सम्राट् विक्रमादित्यले शक राजालाई पराजित गरेपछि यो संवत् चलाएको भन्ने गरिन्छ । हुन त विक्रमादित्य कुनै एक सम्राट् नभई यो पदवी भएकाले कसले यो संवत् सुरु गर्यो भन्ने स्थिति नभएको पनि भन्ने गरिन्छ । नेपालमा यो संवत् जयस्थिति मल्लको पालामा सुरु गरिएको एकथरीको भनाइ छ । हुन त कतिपय अभियन्ता नेपालबाटै भारतीय उपमहाद्वीपमा विक्रम संवत् सुरु भएको हो भन्ने कुरा पनि अघि सार्छन् । उनीहरूको भनाइमा राजा धर्मदेवको पालामा विक्रम सेन भन्ने योद्धा साँखु आएका थिए र उनै विक्रम सेनले विक्रम संवत सुरु गरेका हुन् । विक्रम सेनको शिरको मूर्ति अद्यापि साँखुको वज्रयोगिनी मन्दिरको प्राङ्गणमा रहेको पनि अभियन्ताहरू दाबी गर्छन् ।
हामीकहाँ प्रचलनमा आएको तेस्रो क्यालेन्डर ‘गते’ वा ‘नेपाली क्यालेन्डर’ हो । यो नेपालको आधिकारिक क्यालेन्डर हो । यो क्यालेन्डरलाई विक्रम संवत् नै भनिन्छ तर वास्तवमा यो पूर्ण विक्रम संवत् चाहिँ होइन । यो क्यालेन्डरको सुरुवात विक्रम संवत्कै रहेकाले अन्योल हुन गएको हो । विक्रम संवत् सूर्य र चन्द्रमा दुवैको गति र स्थानका आधारमा हुन्छ । नेपालको आधिकारिक क्यालेन्डर भने सौर्य क्यालेन्डर हो । सौर्य क्यालेन्डर सूर्यको गति र स्थानमा मात्र आधारित हुन्छ । चन्द्रमाको गति र स्थानको हाम्रो नेपाली आधिकारिक क्यालेन्डरमा गणना गरिएको छैन । सौर्य वर्षको गणना दुई प्रकारले गर्न सकिन्छ– ‘ट्रपिकल’ पद्धति र ‘साइडरियल’ पद्धति । पश्चिमी खगोलशास्त्रमा सौर्यवर्षको गणना ‘ट्रपिकल’ पद्धतिका आधारमा गरिन्छ । पूर्वीय खगोलशास्त्रीले ‘साइडरियल’ पद्धति प्रयोग गर्छन् । ‘ट्रपिकल’ पद्धतिको आधार ऋतुहरू अनुसार हुन्छ । ‘साइडरियल’ मा देखिने आकाशको हिसाबले स्थिर ताराहरूको सापेक्षमा गणना गरिन्छ । ‘साइडरियल’ शब्द ल्याटिन शब्द ‘साइडस’ बाट उत्पत्ति भएको हो । यसको अर्थ तारा हुन्छ । हाम्रो आधिकारिक नेपाली गते क्यालेन्डर ‘साइडरियल’ पद्धतिमा आधारित सौर्य क्यालेन्डर हो, न कि चन्द्र–सौर्य क्यालेन्डर ।
हाम्रो आधिकारिक क्यालेन्डर राणा प्रधानमन्त्री चन्द्रशमशेरले चलाएका हुन् । चन्द्रशमशेर ‘मेट्रोकुलेसन’ परीक्षा पास गर्ने पहिलो राणा प्रधानमन्त्री थिए । उनले कलकत्तामा पढेका थिए । उनले कैयाैँ पटक कलकत्तालगायत भारतका अन्य स्थानको भ्रमण गरेका थिए । त्यतिखेर कलकत्ता ब्रिटिस भारतको राजधानी थियो । भनिन्छ, उनले त्यसबेला भारतमा चलेको खास गरी बङ्गालमा प्रचलित सौर्य क्यालेन्डरको कुनै प्रारूप सम्भवतः नेपाल भित्र्याएका थिए । बङ्गालको संवत् भारतका मुगल सम्राट् अकबरले प्रचलनमा ल्याएको संवत् तारिख –ए– इलाहीको प्रारूप हुनु पर्छ । तारिख –ए– इल्गहीअघि सम्राट् अकबरले मुस्लिम हिज्री संवत् प्रयोग गर्थे, जुन चन्द्रवर्षमा आधारित क्यालेन्डर थियो । चन्द्रवर्ष जम्मा करिब ३५४.३७ हुने हुँदा ऋतुहरू चन्द्रमासमा पछि पछि सर्दै जाने हुनाले यो क्यालेन्डरका आधारमा ऋतु अनुसारको कृषि उत्पादनको तिरो उठाउन गाह्रो भएकाले अकबरले वैदिक सूर्य सिद्धान्त अनुसारको सौर्य क्यालेन्डरमा आधारित तारिख –ए– इलाही संवत् चलाएको भनिन्छ । चन्द्रशमशेरले पनि कृषिको तिरो उठाउन सजिलो हुने हिसाबले नै बङ्गालको सौर्य क्यालेन्डरमा आधारित संवत्लाई नेपालमा प्रचलनमा ल्याएको कतिपयको ठम्याइ छ । यस मानेमा हामीले आधिकारिक विक्रम संवत् भन्ने क्यालेन्डरलाई चन्द्रशमशेर संवत् भन्नुपर्ने हुन्छ ।
नेपालमा हाल प्रचलित तीन वटा क्यालेन्डर ‘ग्रेगोरियन क्यालेन्डर’ (मिति क्यालेन्डर), पञ्चाङ्ग वा पात्रो (तिथि क्यालेन्डर) र विक्रम संवत् भनिने चन्द्रशमशेरले चलाएको क्यालेन्डर (गते क्यालेन्डर) मध्ये पञ्चाङ्ग वा पात्रो मात्र चन्द्र–सौर्य क्यालेन्डर हो भने बाँकी दुइटै क्यालेन्डर सौर्य क्यालेन्डर हुन् ।
चीनमा पनि दुइटा क्यालेन्डर प्रचलनमा छ । चीनको आधिकारिक क्यालेन्डर ‘ग्रेगोरियन क्यालेन्डर’ हो । उनीहरूको सामाजिक पर्वहरू जस्तो नयाँ वर्ष हाम्रो पञ्चाङ्ग (पात्रो) जस्तै चन्द्र–सौर्य क्यालेन्डर अनुसार चल्छ । भारतमा पनि मूलतः दुई किसिमका क्यालेन्डर प्रचलनमा छ । हुन त शाके संवत् पनि भारतको अर्को आधिकारिक क्यालेन्डर हो । भारतका बहुसङ्ख्यक हिन्दुको धार्मिक तथा सामाजिक कार्यमा हाम्रो जस्तै चन्द्र–सौर्य वर्षमा आधारित पञ्चाङ्ग प्रयोग हुन्छ ।
यस परिप्रेक्ष्यमा नेपालमा अनावश्यक रूपमा तीन वटा क्यालेन्डर प्रयोग भइरहेको छ । अहिले हामीले बजारमा पाउने दुई वटा मिति र गते क्यालेन्डर वा तीन वटै तिथि, मिति र गते क्यालेन्डर एकअर्कामा खप्टिएर तयार पारिएको क्यालेन्डर वा मोबाइल एप प्रयोग गरी कुन तिथि, मिति वा गतेमा कुन तिथि, मिति वा गते पर्छ भनी पत्ता लगाउने गर्छौं । चन्द्र–सूर्य वर्षमा प्रयोग गर्ने पञ्चाङ्ग क्यालेन्डर बहुसङ्ख्यक हिन्दुको धार्मिक, सामाजिक कार्यमा पूर्णतः सामाहित छ । आजको विश्वव्यापीकरणको परिवेशमा हाम्रो आर्थिक तथा सामाजिक कार्यमा संसारका प्रायः सबै देशले अँगालेको सौर्य वर्षमा आधारित ‘ग्रेगोरियन क्यालेन्डर’ प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको नकार्न सकिँदैन । यस सन्दर्भमा चन्द्रशमशेरले चलाएको अर्को सौर्य क्यालेन्डरको खासै औचित्य रहेको देखिँदैन । हामीले पनि चन्द्रशमशेरले चलाएको आधिकारिक सौर्य क्यालेन्डरको सट्टा विश्वका बहुसङ्ख्यक देश जस्तै ‘ग्रेगोरियन’ सौर्य क्यालेन्डर नै आधिकारिक रूपमा प्रयोग गर्नु उपयुक्त हुन्छ कि ?