• १३ वैशाख २०८१, बिहिबार

निर्वाचन खर्च बुझाउन आनाकानी

blog

गोरखा, असार ८  गते । स्थानीय निर्वाचनका अधिकांश उम्मेदवारले निर्वाचन कार्यालयलाई खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारीअनुसार एक महिनाको समयसीमाभित्र जम्मा ९९० जनाले मात्र विवरण बुझाएका छन् । 

जिल्लाका ११ स्थानीय तह र ९४ वटा वडामा उम्मेदवार बनेका दुई हजार २२ जनामध्ये एक हजार ३२ जनाले खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो । 

“हामीले दिएको एक महिनाको अवधिभित्र ९९० जना उम्मेदवार र तीन जना कार्यपालिका सदस्यका उम्मेदवारले खर्च विवरण बुझाउनुभएको छ,” उहाँले भन्नुभयो, “अझै आधाभन्दा बढीको विवरण प्राप्त हुन सकेको छैन ।” कार्यपालिकामा निर्वाचित २४ उम्मेदवारमध्ये तीन जनाले मात्र विवरण उपलब्ध गराएको उहाँले बताउनुभयो । निर्वाचनको परिणाम सार्वजनिक भएअनुसार असार ६ गतेभित्र सबैले विवरण बुझाउन पर्ने कार्यालयले स्पष्ट पारेको छ । 

जसअनुसार अजिरकोट गाउँपालिकाभित्रका उम्मेदवारले जेठ ३१, आरुघाट, भीमसेन थापा र शहीद लखन गाउँपालिका उम्मेदवारले असार १, गण्डकी र धार्चे गाउँपालिकाका उम्मेदवारले असार २, गोरखा नगरपालिका, बारपाक सुलिकोट गाउँपालिकाका उम्मेदवारले असार ३ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्ने जारी सूचनामा उल्लेख छ । त्यस्तै पालुङटार नगरपालिका र सिरानचोक गाउँपालिकाका उम्मेदवारले असार ४,  चुमनुब्री गाउँपालिकाका उम्मेदवारले ६ गते भित्र खर्च बुझाउन समयसीमा तोकिएको छ । 

तर उम्मेदवारहरूले अटेरी गरी ‘राज्यले बनाएको कानुनको पालना नगरेको बुझाइ सम्बन्धित अधिकारीको छ । “यो उहाँहरूको अटेरी हो” कानुन व्यवसायी एवं अभियन्ता स्थानेश्वर दुवाडीले भन्नुभयो, “लोकतन्त्रलाई विश्वास गरी निर्वाचनमा भाग लिने तर जवाफदेही र पारदर्शी नहुने ?

उहाँहरूले यथाशीघ्र खर्च विवरण बुझाउनुपर्छ ।”स्थानीय चुनावमा नगरपालिका प्रमुख र उपप्रमुख पदका उम्मेदवारले अधिकतम चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष वा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँ खर्च गर्न पाउने व्यवस्था गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले भने ५० हजार, वडाध्यक्षका उम्मेदवारले भने नगरपालिकामा दुई लाख, गाउँपालिकामा एक लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था आयोगले गरेको थियो । 


Author

नरेन्द्र ढकाल