गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १७ गते । नेपाल संयुक्त राष्ट्रसङ्घको प्रमुख अङ्गमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएको छ । राष्ट्रसङ्घको मुख्यालयमा आयोजित विशेष समारोहमा न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले परिषद्को अध्यक्षता ग्रहण गर्नुभयो । उहाँ परिषद्को २०२६ सत्रका लागि अध्यक्ष निर्वाचित हुनुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार परिषद्का निवर्तमान अध्यक्ष तथा क्यानडाका स्थायी प्रतिनिधि बब रेले अध्यक्षको प्रतीक हस्तान्तरण गर्दै थापालाई परिषद्को पद हस्तान्तरण गर्नुभएको थियो । नवनिर्वाचित अध्यक्ष थापाले विश्वका दबाबपूर्ण विकासात्मक चुनौतीको समावेशी, समन्वित र परिणाममुखी समाधानलाई आकार दिन परिषद्को भूमिकालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
परिषद्मा हुने संवादका लागि एउटा मञ्चका रूपमा मात्र नभई अधिकार तथा सामाजिक न्याय वितरणका लागि उत्प्रेरकका रूपमा परिषद्लाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको अध्यक्षता दिगो विकास एजेन्डा–२०३० का साथै बहुपक्षीयताप्रतिको यसको स्थायी प्रतिबद्धता र विश्वास निर्माण गर्न, बहुपक्षीयतालाई सुदृढ पार्न र अझ न्यायपूर्ण, समावेशी र पुनरुत्थानशील विश्वको प्राप्तिमा अर्थपूर्ण योगदान गर्नमा केन्द्रित हुने पनि उहाँले प्रस्ट पार्नुभयो ।
सन् २०२६ को सत्रका लागि परिषद्को उपाध्यक्षका रूपमा अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणराज्य र स्पेन निर्वाचित भएका छन् ।