• १७ साउन २०८२, शनिबार

सहकारी प्रकरण : पच्चिस करोड अपचलन

blog

भैरहवा समाचारदाता

भैरहवा, साउन १६ गते । रुपन्देहीको तिलोत्तमास्थित डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा १२ करोड हिनामिना र २५ करोड रुपियाँ अपचलन भएको पुष्टि भएका छन् । सहकारीमा अपचलन भएपछि सात जना स्वतन्त्र लेखा परीक्षकले अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । सो अध्ययन प्रतिवेदन प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख दिनेशचन्द्र आचार्यलाई बिहीबारै हस्तान्तरण गरिएको छ । 

प्रतिवेदन अनुसार सहकारीमा १२ करोड हिनामिना, २५ करोड अपचलन र ८५ करोडको हाराहारीमा नीतिगत अपचलन भएको पुष्टि भएको उल्लेख गरेको छ । सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरू अन्योलमा परेका छन् । उनीहरूले आफूहरूको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ प्रदर्शन गरिरहेका छन् । रुपन्देही जिल्ला अदालतले दुई साताअघि अध्यक्ष र सचिवविरुद्ध पक्राउ पुर्जी जारी गरे पनि उनीहरू हालसम्म पक्राउ परेका छैनन् । छानबिन समितिका अनुसार सहकारीका ५८५ ऋणीमध्ये करिब ५० जनालाई धितोबिना नै ऋण प्रवाह गरेको पाइएको छ । धितो राखेर ऋण दिएको भनिएकाको धितो मूल्याङ्कन गरिएको छैन भने धितो पनि नाम मात्रको देखाइएको लेखा परीक्षणका क्रममा पाइएको छ ।

सहकारीका करिब दुई हजार बचतकर्ताको रकम बैङ्कमा जम्मा नगरी अध्यक्ष, सचिव र व्यवस्थापकको मिलेमतोमा निजी खातामा जम्मा गरेको, करोडौँ रकम व्यक्तिगत तजबिजमा लगानी गरेको समेत पाइएको छ ।

सहकारीका सेयर सदस्य कमल शर्मा पौडेलका अनुसार सहकारीको सफ्टवेयर ‘अफ आवर’ अर्थात् कार्यालय बिदा भएपछिको समयमा चलाइएको, ऋण नलिएका व्यक्तिको नाममा ऋण देखाइएको र करिब ५० जनालाई बिनाधितो ऋण प्रवाह गरिएको भेटिएको छ । ऋणका फाइलमा प्रक्रिया पूरा नगरिएको, १० लाखभन्दामाथिको फाइलमा इन्जिनियरिङ मूल्याङ्कन पनि नगरेको पाइएको छ ।

अध्यक्ष केसी पक्राउ

सिद्धार्थनगर समाचारदाताका अनुसार रुपन्देहीको भैरहवास्थित मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छ । सिद्धार्थनगर नगरपालिका–५ मा रहेको उक्त सहकारीका सेयर सदस्य तथा बचतकर्ताको पाँच करोड ९० लाख ८४ हजार १६५ रुपियाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ पर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका दोलखाको मेलु गाउँपालिका स्थायी घर भएका ३४ वर्षीय केसी पक्राउ परेको बताउनुभयो ।