• १७ साउन २०८२, शनिबार

गुल्मीमा पचास प्रतिशतले गराए स्वास्थ्य बिमा

blog

स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मी ।

रमेश विश्वकर्मा 

गुल्मी, साउन १६ गते । सामाजिक सुरक्षाअन्तर्गत सरकारले ल्याएको स्वास्थ्य बिमाप्रति गुल्मीका नागरिकको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रमबाट यस जिल्लाका पचास प्रतिशतभन्दा बढी नागरिकले सेवा लिएका छन् । 

गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसंख्या रहेको छ । 

हालसम्म यहाँका एक लाख २३ हजार ९५५ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ । जसमा ५९ हजार ९६९ जना पुरुष र ६३ हजार ९८६ जना महिलाले स्वास्थ्य बिमा गराउनुभएको छ । हालसम्म यस जिल्लाका ५० दशमलव ३० प्रतिशत नागरिकले स्वास्थ्य बिमा गराउनुभएको उहाँले जानकारी दिनुभयो । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बिमा गर्नेको संख्या बढिरहेको संयोजक घिमिरेले बताउनुभयो । 

यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ । स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्याङ्क अनुसार यहाँ २३ हजार ९४२ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको हो । मुसिकोट नगरपालिकाका सात हजार ६८६ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ । 

कालिगण्डकी गाउँपालिकाका छ हजार ६३७, सत्यवती गाउँपालिकाका १५ हजार ६८१, चन्द्रकोट गाउँपालिकाका छ हजार १७५, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार ७१६, छत्रकोट गाउँपालिकाका ११ हजार ९४४, गुल्मीदरबार गाउँपालिकाका १० हजार १५ जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको छ । इस्मा गाउँपालिकाका छ हजार ९०१, धुर्कोट गाउँपालिकाका नौ हजार ७१६, मदाने गाउँपालिकाका तीन हजार ४६२ र मालिका गाउँपालिकाका आठ हजार ८० जना नागरिकले स्वास्थ्य बिमा गराउनुभएको स्वास्थ्य बिमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्यांकमा उल्लेख छ । 

महिला स्वास्थ्य स्वयंसेविका ८८१ परिवारका चार हजार ५५८ जनाले स्वास्थ्य बिमा गराउनुभएको छ । सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बिमा गरिदिने गरेको छ । ज्येष्ठ नागरिक ९७० बर्ष माथिका० १७ हजार ३६५ जना, एचआइभी संक्रमितका १६५ परिवारको ४८१ जना, कुष्ठरोगी ३ परिवारका १२ जना, ‘क’ वर्गका अपाङ्गता भएका ७८२ परिवारका तीन हजार ९३८ जना, जटिल खालको क्षयरोग लागेका ६ परिवारका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिनुभएको छ ।