काठमाडौँ, असार ८ गते । नेपालमा कुल दूध उत्पादनमा ६० प्रतिशत योगदान भैँसीको छ तर त्यसमा सरकारको खासै लगानी र मिहिनेत देखिएको छैन । सरकारले गाईमा जति लगानी गरेको छ, त्यति लगानी भैँसीमा नगरेको विभिन्न अध्ययनले देखाएका छन् । त्यति मात्र होइन, कुल गार्हस्थ्य उत्पादनमा धानको पहिलो स्थान रहेको छ भने दोस्रो स्थान गाईको रहेको छ तैपनि सरकारको ध्यान त्यतातिर गएको छैन ।
गाई जस्तै भैँसी प्रवद्र्धनमा सरकारले ध्यान दियो भने मासु जस्तै दूधमा पनि आत्मनिर्भर हुन धेरै समय नलाग्ने राष्ट्रिय दूग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले बताउनुभयो । उहाँले भैँसीका लागि कुनै छुट्टै नीति छैन, यद्यपि आफूले त्यसको बारेमा केही नकेही नीतिगत कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उन्नत जातको गाई वृद्धिका लागि सरकारले अमेरिका, स्विजरल्यान्ड, होल्यान्डलगायतका देशबाट ब्रिज (सेमन) का लागि साढे तथा गाई ल्याएका छन् । तर उन्नत जातको भैँसीका लागि सरकारले खासै चासो देखाएको छैन । पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार वार्षिक करिब पाँच लाख गाईमा कृत्रिम गर्भाधान हुन्छ तर यता करिब एक लाख २५ हजार भैँसीमा मात्र कृत्रिम गर्भाधान हुने गरेका छन् ।
यो तथ्याङ्कले नै सरकारले गाई र भैँसीमा गरेको लगानी स्पष्ट हुन्छ । पशु सेवा विभागको तथ्याङ्कअनुसार नेपालमा ५२ लाख भैँसी (भैँसी, राँगा) पालिएका छन्, त्यसमध्ये १६ लाख दूधालु भैँसी रहेका छन् । त्यस्तै ७४ लाख गाई (गाई, गोरु, बाछा, बाछी) पालिएका छन्, त्यसमध्ये १० लाख दूधालु गाई रहेका छन् । विभागका प्रवक्ता ढकालका अनुसार ५२ लाख भैँसीमा मासु पनि त्यसै अन्तर्गत आउँछ । मासुका लागि पनि भैँसी पालेका हुन्छन् तर गाईमा त्यस्तो हुँदैन ।
गाई प्रायः दूधका लागि मात्र पालेका हुन्छन् । कतिपय ठाउँमा गोरुका लागि पनि गाई पालेको भेटाइन्छ तर त्यस्तो धेरै कम देखिन्छ । नेपालमा उन्नत जातका भैँसी धेरै कम छन् । भारतबाट मुर्रा जातका राँगा ल्याउन पहल भए पनि अहिलेसम्म आइपुगेका छैनन् । नेपालले जीटुजी (सरकारदेखि सरकार) माध्यमबाट भारतबाट मुर्रा जातको राँगा ल्याउने पहल सुरु भएको प्रवक्ता ढकालले बताउनुभयो ।
उन्नत जातको गाईले एक दिनमा २५ देखि ३० लिटर दूध दिन्छ, भैँसीले आठदेखि नौ लिटर मात्र दूध दिन्छ भने लोकल गाईले दैनिक २–३ लिटर मात्र दूध दिन्छन् । तर लोकल भैँसीले दैनिक पाँचदेखि छ लिटर दूध दिन्छ । नेपालमा केही मुर्रा जातका भैँसी भए पनि ग्रामीण क्षेत्रमा अधिकांश भैँसी लोकल जातका छन् । राष्ट्रिय दूग्ध विकास बोर्डले तयार पारेको एक प्रतिवेदनअनुसार गाईले औसतमा प्रतिवेत ७८९ लिटर र भैँसीले ८४४ लिटर दूध दिने गरेको देखिन्छ ।
भैँसीको अधिकांश दूध ग्रामीण क्षेत्रबाट आउने गरेको डेरी अनुसन्धानकर्मी विनोदप्रसाद गुप्ताले बताउनुभयो । उहाँले हालै नेपालमा दूधको उत्पादन र त्यसको मूल्य शृङ्खलाको बारेमा अध्ययन गर्नुभएको छ । सो अध्ययनका अनुसार सरकारले गाई पालनका लागि जति लगानी गरेका छन्, त्यति ध्यान भैँसी पालनमा दिएको छैन । भैँसी पाल्न सजिलो छ ।
भैँसी दूध दिन छाडेपछि पनि यसलाई मासुका लागि बिक्री गर्न सकिन्छ अर्थात् भैँसीमा गरेको लगानी खेर जाँदैन तर गाईमा त्यस्तो हुँदैन । गाईले दूध दिन छाडेपछि त्यो कुनै कामको हुँदैन । त्यही भएर ग्रामीण क्षेत्रमा गाईभन्दा बढी भैँसी पालेको देखिन्छन् । तर व्यावसायिक रूपमा गाईपालन बढी देखिएका छन् । गाईका लागि सरकारले विभिन्न अनुदानका कार्यक्रमहरू सञ्चालन गरे पनि भैँसीका लागि खासै गरेको पाइँदैन तैपनि दूधमा ६० प्रतिशत योगदान
भैँसीको छ ।
विभागका प्रवक्ता ढकालले लगानीको हिसाबले गाई र भैँसीमा भेदभाव गरिएको छैन तर गाईप्रति किसानको चासो बढी पाइएको बताउनुभयो । भैँसी फार्महरू पनि छन् तर त्यसको तुलनामा गाईका फार्महरू धेरै देखिएको बताउँदै उहाँले भन्नुभयो, “उन्नत जातको गाई पालन ग¥यो भने भैँसीभन्दा बढी दूध दिन्छन्, त्यही भएर त्यतातिर किसानको ध्यान गएको हुनुपर्छ ।”