• १४ साउन २०८२, बुधबार

सात हजार बढीको कानको उपचार

blog

पश्चिम नेपालको प्रसिद्ध कान अस्पताल ब्रिनोज कान अस्पताल नेपालगन्ज। तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, साउन १३ गते। नेपालगन्ज फुलटेक्रास्थित ब्रिनोज कान स्वास्थ्य अस्पतालले एक वर्षमा पश्चिम नेपालका तीन प्रदेशका सात हजार छ सय भन्दा बढीलाई कान उपचार सेवा प्रदान गरेको छ।

अस्पतालका आउट रिच इन्चार्ज भीषण कुमार चौधरीका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न २१ स्थानमा पुगेर आउट रिच कार्यक्रम अन्तर्गत कान स्वास्थ्य सम्बन्धी शिविरका माध्यमबाट सात हजार छ सय ५६ जनालाई उपचार सेवा प्रदान गरिएको हो।

सेवा लिनेमा पुरुषको तुलनामा महिला धेरै रहेका छन्। तीन हजार ३३९ जना पुरुषले सेवा लिदा चार हजार ३१७ जना महिलाले उपचार सेवा लिएको इन्चार्ज चौधरीले बताउनुभयो। 

सो क्रममा ९६२ जनामा कान पाक्ने, ९११ जनामा कानेगुजी, कानभित्र पानी जमेको १३८ जना, धुसी २४९ जना र अन्य चार हजार ९१३ जनामा अन्य समस्या देखिएकोमा उनिहरु सबैको उपचार गरिएको आउट रिच इन्चार्ज चौधरीले बताउनुभयो। 

शिविरबाट ब्रिनोज कान अस्पतालमै आएर उपचार गर्नेको संख्या ३३५ रहेको पनि उहाँले जनाउनुभयो। उहाँका अनुसार तीमध्ये ५३ जनाको शल्यक्रिया गरिएको थियो भने ६४ जनाको कानमा मेसिन लगाइएको थियो।