• १५ साउन २०८२, बिहिबार

वीर अस्पतालको महिमा

blog

स्वास्थ्य नै धन हो । मानिसका लागि गाँस, बास र कपास पहिलो सर्त हो । यसका साथसाथै स्वास्थ्य, शिक्षा र रोजगारी उसको नैसर्गिक अधिकार हो । रोग लागेर उपचार गराउनुभन्दा रोग नै लाग्न नदिनु जाती मानिन्छ । निरोगी बन्ने सबैको चाहना हुन्छ तर पनि विविध कारणले रोगव्याधि लाग्छ । समयमै उपचार गराएर रोग निको पार्नु पर्छ । यसका लागि सरकारी र निजी अस्पताल बनेका छन् । रोगको परम्परागत चिकित्सा पद्धति र आधुनिक चिकित्सा पद्धतिबाट उपचार गराउन सकिन्छ । आजको जीवनशैली, खानपिन र व्यवहार स्वच्छ नहुँदा धेरै किसिमका रोगव्याधिले मानिसलाई सताएको छ । उपचारमा धेरै खर्च गर्नुपर्ने अवस्था आएको छ । असाध्य रोगले आजको जनजीवन बढी प्रभावित छ । कतिपय उपचार सर्वसाधारणको पहुँचदेखि बाहिर छ । सरकारले उपचार गर्न नसक्ने यस्ता गरिब तथा असहायका लागि निःशुल्क उपचार सेवाको समेत व्यवस्था गरेको छ । नेपालमा अस्पतालकोे सुरुवात नै वीर अस्पतालबाट भएको हो । यो नेपालको सबैभन्दा पुरानो र सबैका लागि भरपर्दो अस्पताल बनेको छ । आजभन्दा १३६ वर्षअघि विक्रम संवत् १९४६ साउन १२ गते १५ शय्याबाट सेवा प्रारम्भ गरेको नेपालकै जेठो र गौरवशाली इतिहास बोकेको यो अस्पतालले आधारभूतदेखि विशेषज्ञ तथा अति विशिष्टीकृत सेवा प्रदान गर्दै आइरहेको छ । हाल ९६० शय्या सञ्चालनमा रहेको अस्पतालमा पहिलो पटक नेपालमा मुटुको शल्यक्रिया, मिर्गौला प्रत्यारोपण, न्युरो सर्जरी तथा सघन उपचार सेवा सुरु गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा छ लाख ४७ हजार २१५ जनाले यस अस्पतालमा उपचार सेवा लिएका छन् । 

वीर अस्पताल बन्नुअघिसम्म नेपालमा अस्पताल थिएनन् । राणा प्रधानमन्त्री वीरशमशेरले यो अस्पताल बनाउनुभएको हो । वीरशमशेरले अस्पतालको उद्घाटनमा भन्नुभएको थियो, “काठमाडौँको रानीपोखरीनिर अस्पताल खोलिएको छ । औषधी नहुँदा रैतीले साह्रै दुःख पाउने रहेछन्, त्यसैले अस्पतालको स्थापना गरेको हुँ । रैतीले दुनियाँको एक पैसा खर्च नभई औषधी गर्न पाउने छन् ।” उहाँले भन्नुभएको थियो, “बेरामीका हिफाजतलाई जो चाहिन्या भान्छे, नोकर चाकरहरूको पनि बन्दोबस्त गरी खाना पिन्या सरजाम, सुत्न्या पलङ बिछ्यौना गैह्र दुरुस्त । केही कुरामा कमी छैन । बेरामीलाई हिफाजतसाथ रोज खाना पिनालाई चाहिन्या सरजामसमेत तयार छ ।” राणाकालमा जनतालाई रैती भनिन्थ्यो । वीरशमशेरले रैतीका लागि अस्पताल बनाउन काठमाडौँका दातासँग ४८ रोपनी जग्गा मागेर अस्पताल बनाउनुभएको थियो । नेपालमा वीर अस्पतालको स्थापनासँगै आधुनिक औषधी विज्ञानको सेवा सुरु भयो । वीर अस्पतालले तुलनात्मक रूपमा सस्तो, गुणस्तरीय र दक्ष जनशक्तिमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । अन्य सरकारी तथा निजी अस्पतालभन्दा अग्रस्थानमा आफूलाई राखेर जनताको मन जित्न सफल भएको छ । स्वास्थ्य सेवाका अतिरिक्त वीर अस्पताल चिकित्सा शिक्षा र अनुसन्धानको केन्द्रका रूपमा समेत स्थापित भएको छ । २०६३ मङ्सिर १७ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन जारी भएसँगै संस्थाले स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

राष्ट्रका लागि दक्ष र योग्य चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी उत्पादन गरी स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको अस्पतालमा हालसम्म बिरामीलाई निःशुल्क खाना दिने प्रचलन कायमै छ । वीर अस्पतालबाटै थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पताल, मानसिक अस्पताल पाटन र कान्ति बाल अस्पताल पनि विस्तार गरिएको हो । वीर अस्पतालमा स्थान अभाव भएपछि वीरको प्रसूति विभाग थापाथलीमा सारेर इन्द्र राज्यलक्ष्मीदेवी शाह प्रसूतिगृह बनाइएको थियो । यसै गरी वीर अस्पतालमा नेपालमै पहिलो पटक सुरु गरिएको मानसिक रोगको क्लिनिक विभाग हुँदै मानसिक अस्पतालका रूपमा लगनखेलमा सारिएको थियो । यस्तै बालरोग विभागलाई कान्ति बाल अस्पतालमा सारिएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पनि सरुवा रोग अस्पताल हुनुअघि वीर अस्पतालको सरुवा रोग युनिटमा रहेको थियो । मूलतः देशको समग्र स्वास्थ्य उपचारको स्थिति वीर अस्पतालबाट सुरु भएको घटनाक्रमबाट पुष्टि हुन्छ । यो अस्पतालमा सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रमा सुधार गर्न सकिने अवस्था छ । सोमबार अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रको अवस्था हेर्र्न वीर अस्पताल आए पुग्ने र यस अस्पतालले पु¥याएको योगदान प्रस्ट पार्ने काम गर्नुभएको छ । वीर अस्पतालले जस्तै अन्य सरकारी तथा निजी अस्पतालले धर्म र नैतिक आचरण देखाएर सस्तो र सुलभ सेवा दिन सक्नु पर्छ ।