अमरराज नहर्की
तनहुँ, साउन ११ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कसैले खोट लगाउन नमिल्ने गरी काम गर्ने बताउनुभएको छ । एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान तनहुँले आइतबार गरेको बधाई तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै मन्त्री न्यौपानेले कुनै लालचामा नफसी बेदाग भएर कार्यकाल पूरा गर्ने बताउनुभयो ।
आफु तनहुँको छोरी भएकाले जिल्लाबासी र जनताको शिर निहुर्याउने गतिविधिहरू कहिल्यै नगर्ने न्यौपानेले बताउनुभयो । पछिल्लो समयमा नेकपा एमाले सरकारमा आएपछि विकासको गतिविधिहरू रफ्तारले अगाडि बढेको भन्दै न्यौपानेले विकासको शिलशिलामा नेकपा एमालेले जति अरुबाट विकास हुन नसक्ने न्यौपानेले दाबी गर्नुभयो । आफु मन्त्री भइरहँदा तनहुँको समस्यालाई उजागर गरी आफ्नो कार्यकालमा धेरै विकासको गतिविधि गरी कमिकमजोरी नआउने गरी काम गर्ने न्यौपानेले बताउनुभयो ।
प्रतिष्ठानका अध्यक्ष विष्णुभक्त सिग्देलले सम्मानपत्र प्रदान गरी मन्त्री न्यौपानेलाई बधाई तथा सम्मान गर्नुभएको थियो । यस अघि नेकपा एमाले जिल्ला कमिटी तनहुँले शनिबार मन्त्री न्यौपानेलाई बधाई ज्ञापन गरेको थियो । सो अवसरमा उहाँले पार्टीले खटाएको हरेक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै अहिलेको मन्त्री पनि पार्टी र प्रधानमन्त्रीले दिनुभएको विशेष जिम्मेवारी रहेको हुँदा यस जिम्मेवारी पनि सफलतापुर्वक पूरा गर्ने बताउनुभयो ।
आफ्नो मन्त्रालयमा कुनै पनि किसिमको अनियमितता र भ्रष्टाचारको गन्ध आउन नदिने उहाँले बताउनुभयो । आफु मन्त्रीमा सफल हुनु भनेको नेकपा एमाले तनहुँ सफल हुने भन्दै मन्त्री न्यौपानेले आफुलाई सफल बनाउन सिङ्गो पार्टीले सहयोग गर्नुपर्ने बताउनुभयो । एमाले केन्द्रीय सल्लाहाकारद्वय प्रतापलाल श्रेष्ठ र नरेन्द्रराज वाग्ले, नेकपा एमाले जिल्ला कमिटिका अध्यक्ष हरिराज कँडेल, गण्डकी प्रदेश कमिटिका सदस्य मनुमाया श्रेष्ठ, जिल्ला कमिटीका सचिव प्रदीपराज अधिकारी लगायतले मन्त्री न्यौपानेलाई सफलताको शुभकामना दिनु भएको थियो ।