हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), साउन ११ गते । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका वडा नं २ छोसेरका ८८ वर्षीया टसी गुरूङले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउनुभयो । बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा निकै सास्ती भोग्नुपरेको अवस्थामा घरदैलोमै भत्ता लिएर जनप्रतिनिधि आएपछि वृद्ध टसी फुरूङ्ग हुनुहुन्छ । गाउँकै अर्का ८४ वर्षीय तेन्जिङ गुरूङले बैंकसम्म पुग्न नसकेर सरकारले उपलब्ध गराएको भत्ता समेत नियमित निकाल्न पाउनुभएको थिएन । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ उपाध्यक्ष छयुमी बिष्ट गुरुङले गाउँपालिका र बैैंक लोमान्थाङ शाखाका कर्मचारीलाई लिएर गाउँमै पुगेर भत्ता वितरण गरेपछि वडा नं १ की ८२ वर्षीया याङजुम गुरूङ आफन्तको सहयोगमा वडा कार्यालयसम्म पुगेर भत्ता लिनुभयो ।
गाउँपालिका भित्र रहेका ८० माथिका वृद्धवृद्धालाई बैंकसम्म पुगेर भत्ता लिन समस्या भएपछि गाउँपालिकाले सबै वडामा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई वडा र घरदैलोमै पुगेर उपलब्ध गराउन थालेपछि ज्येष्ठ नागरिक र अशक्तहलाई धेरै सहज भएको छ । सवारीसाधन र पैदल हिडेर लोमान्थाङमा रहेको प्रभु बैंकसम्म आउनुपर्नेमा अहिले जनप्रतिनिधिल नै बैंक लिएर आउँदा खुसी लागेको ८१ वर्षीय पेमा सम्डुक गुरूङले बताउनुभयो । वृद्ध पेमा भन्नुहुन्छ, ‘‘सरकारले पठाएको सबै भत्ताको बैंकमै रहेको पैसा पनि अहिले बैंकले हातमै दिदाँ खुसी लागेको छ ।’’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाश केसीका अनुसार परिवारका अन्य सदस्य वैदैशिक रोजगार वा अन्य कामले गाउँ बाहिर भएको अवस्थामा बैंकसम्म आउन समस्या भएकाले गाउँपालिकाले ५ वटै वडामा पुगेर वितरण गर्ने निर्णय गरेको थियो । लोमान्थाङ गापा वडा नं १ र २ मा वितरण गरिएको छ भने ३ र ४ मा आइतबार वितरण गरिने छ । गाउँमै भत्ता पाएपछि नेपाल सरकार र गाउँपालिकाको समेत वृद्धवृद्धाले प्रशंसा गरेका छन् ।
गाउँपालिका अध्यक्ष गुरुङले ज्येष्ठ नागरिक, दलित, अशक्त, असहाय, एकल महिला लगायतका लाभग्राहीलाई भत्तासँगै स्वास्थ्य समस्याका बारेमा जानकारी लिने गरेको बताउनुभयो । अध्यक्ष गुरूङले भन्नुभयो, ‘‘भत्तासँगै उहाँहरूको अन्य समस्या पनि बुझ्न सहज भएको छ, हामीले बैंकलाई नै गाउँमा लगेर वितरणलाई निरन्तरता दिन्छौ ।’’
लोमान्थाङमा ३२७ जना लाभग्राही रहेका छन् । गाउँपालिकाको केन्द्र रहेको वडा नं ५ बाहेक अन्य सबै वडामै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा वितरणको प्रबन्ध मिलाउने कार्यपालिका बैठकबाट निर्णय गरेको थियो । सोही अवसरमा गाउँमा वितरण गर्ने अन्य सेवाहरूलाई समेत सँगसँगै लैजाने गरिएको छ । नेपाल सरकारले ज्येष्ठनागरिकलाई बैंकमै खाता खोलेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था गरेपछि भौगोलिक विकटता, शारीरिक रुपमा अशक्ततालगायत विविध कारणले समस्या हुने गरेको छ ।