• १२ असोज २०८१, शनिबार

हजयात्रीलाई बिदाइ

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ७ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हज गर्न जाने मुस्लिम समुदायका हजयात्रीलाई सोमबार बिदाइ गर्नुभएको छ । उहाँले मुस्लिम धर्मावलम्बीको पवित्र तीर्थस्थल मक्का मदिना जाने हजयात्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभयो । 

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले समितिमार्फत पहिलो उडानमार्फत ११० हज यात्रीलाई मक्का मदिनामा जानका लागि बिदाइ गरिएको जानकारी दिनुभयो । पहिलो चरणमा सुनसरी, मोरङ र झापाका हजयात्री सहभागी हुनुहुन्छ । यो वर्ष हज समितिमार्फत जम्मा ५४३ जना हजयात्री मक्का मदिना जाने कार्यक्रम छ । सोमबार ११० जना उडेका छन् भने बाँकी हजयात्रीलाई असार १० गतेसम्म अरू चारवटा उडानमार्फत पठाउने कार्यक्रम रहेको छ । 

विक्रम् संवत् २०२१ सालदेखि नेपालबाट हजका लागि मक्का मदिना जाने गरेको समितिका अध्यक्ष मियाँले जानकारी दिनुभयो । अहिलेसम्म नेपालबाट कति हजयात्री मक्का मदिना पुगेको भन्ने तथ्याङ्क समितिसँग नरहेको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको ४.४ प्रतिशत मुस्लिम समुदायको बसोवास रहेको छ ।