• १० साउन २०८२, शनिबार

छोरीको सुनौलो भविष्यको साथमा स्थानीय सरकार

blog

कालीगण्डकी गाउँकार्यपालिकाको कार्यालय । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास(गुल्मी), साउन १० गते ।
छोरीको सुनौलो भविष्य निर्माणका लागि यहाँको एक गाउँपालिकाले खातामा १० हजार रुपियाँ जम्मा गरिदिने गरेको छ ।

गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिका भित्र छोरी जन्मिए लगत्तै उसको खाता खोली १० हजार रुपियाँ जम्मा गरिदिने गरेको हो ।  गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाका अनुसार नवजात छोरीको खाता खोली १० हजार रुपियाँ अक्षय कोषका रूपमा जम्मा गरिदिने गरेको र उक्त रकम छोरीको नागरिकता बनेपछि मात्रै निकाल्न मिल्ने गरी व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा पालिका भित्र ४२ जना छोरीहरूको जन्म भएकाले उनीहरूको कुमारी बैँकमा खाता खोली १० हजारका दरले चार लाख बीस हजार रुपियाँ जम्मा गरिदिएको थापाले बताउनुभयो ।  

गाउँ पालिकाका अध्यक्ष वेदबहादुर थापाले अझै पनि समाजमा छोरीभन्दा छोरालाई महत्त्व दिने र कतिपयले गर्भमा छोरी छ भन्ने थाहा भएपछि गर्भपतन गराउने परिपाटी कायमै भएकाले त्यसको अन्त्यका लागि यस्तो कार्यक्रम ल्याइएको बताउनुभयो । 

छोरीको नागरिकता बन्ने अवधिसम्म उक्त रकम वृद्धि भएर करिब ५० हजार रुपियाँसम्म हुने भएकाले छोरीहरूलाई उच्च शिक्षा अध्ययन गर्नका लागि पनि थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । यसका साथै छोरीहरूले १६ वर्ष पुगेपछि अन्य केही कार्य गर्नका लागि योजना बनाएमा पनि यसले केही राहत मिल्ने थापाले दाबी गर्नुभयो । यस कार्यक्रमले छोरीको सुनौलो भविष्य निर्माण गर्न र छोरीलाई भन्दा छोरालाई महत्त्व दिने परिपाटीको अन्त्य गर्नमा पनि सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीले यसलाई थप व्यवस्थित गर्नका लागि कार्यविधि बनाएर लागु गरिएको बताउनुभयो । पालिकाको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि कानुनी वैधता आवश्यक भएकाले कार्यविधि बनाएर लागु गरिएको उहाँको भनाइ छ ।

यता नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले कालीगण्डकी गाउँपालिकाले नमूनायोग्य कार्य गरेको बताउनुभयो ।  छोरीहरूलाई समाजमा हेर्ने दृष्टिकोणलाई अन्त्य गर्न  र अपहेलित हुनबाट रोक्नका लागि केही हदसम्म भए पनि अन्त्य गर्ने उहाँको भनाइ छ । छोरा र छोरी समान हुन भन्नका लागि सोचमै परिर्वत ल्याउन आवश्यक भएको बताउँदै यस कार्यक्रमले पनि केही राहत मिल्नेमा उहाँले जोड दिनुभयो ।

अघिल्लो आर्थिक वर्षमा पालिका भित्र १२० जना बच्चा जन्मिएकोमा ४५ जना छोरी र गत आर्थिक वर्षमा ९३ जनामध्ये ४२ जना छोरी जन्मिएको गाउँपालिकाका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले जानकारी दिनुभयो । छोरी जन्मे खातामा दस हजार रुपियाँ जम्मा गरिदिने कार्यलाई यस वर्ष पनि निरन्तरता दिएको उहाँले बताउनुभयो । पहिले छोरी जन्मे पाँच हजार दिने कार्यक्रम ल्याएकोमा पालिकाले थप व्यवस्थित गर्दै हाल १० हजार खातामा जम्मा गरिदिने र नागरिकता बनेपछि स्वयंले निकाल्न मिल्ने गरी व्यवस्था गरेको हो ।

यस्तै पालिकाले सुत्केरी महिला भेट्दा रैथाले भाले र घ्यु लिएर भेटन जाने गरेको छ । गर्भवती र सुत्केरीको साथमा उपाध्यक्ष कार्यक्रममार्फत सम्भव भएसम्म रैथाले भाले र नभए घ्यु लिएर उपाध्यक्ष भेटन जाने गरेको स्वास्थ्य शाखाले जनाएको छ । यस कार्यक्रमलाई पनि निरन्तरता दिदैँ आएको गाउँपालिकाले जनाएको छ ।