राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), साउन १० गते । स्याङ्जाको बिरुवा गाउँपालिका–५, किचनासकी एकल महिला नानीमाया विकले घर उपहार पाउनुभएको छ । नेपाली कांग्रेस बिरुवा गाउँपालिकाले तरुणदल, नेविसङ्घलगायतसँगको सहकार्यमा नयाँ घर निर्माण गरेर विकलाई हस्तान्तरण गरेको हो ।
घर पाएपछि उत्साहित हुनुभएकी विकले आर्थिक अभावमा कारण घर मर्मत समेत गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा नहुँदा घर बनाउन त परै जाओस् पुरानो घरको मर्मत समेत गर्न पाएकी थिइन, अब भने सहज रूपमा रात कटाउन पाउने भएँ ।” विक लामो समयदेखि छिमेकीको पिँढीमा रात कटाउँदै आउनु भएको थियो । पतिलाई वर्षाै पहिले गुमाउनु भएकी विकका बालबच्चा छैनन् ।
घरको चापी हस्तान्तरण गर्नुहुँदै सङ्घीय सांसद तथा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले विपन्न तथा असहाय परिवारका लागि कांग्रेसले सहयोग गर्दै आएको बताउनुभयो ।
तीन लाख ५० हजार रुपियाँ खर्च गरी नानीमाया विकको घर निर्माण गरिएको नेपाली कांग्रेस बिरुवाका सभापति डोलराज पोख्रेलले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएको परिवारलाई समाजिक सेवाभावले सहयोग गरेको पोख्रेलको भनाइ छ । बिपी स्मृति दिवसको अवसर पारेर नानीमायालाई नयाँ घर हस्तान्तरण गरिएको हो । दुई कोठा र शौचालयसहितको घर कांग्रेसका कार्यकर्ताहरूले निर्माण गरेका हुन् ।
यसैबिच भीरकोटमा पनि नेपाली कांग्रेसले विपन्न माझी परिवारलाई नयाँ घर निर्माण गरिरहेको छ । नेपाली कांग्रेस भीरकोट नगरकार्यसमितिले वडा नंं. ६ को चिउरेनीमा प्रेम माझीको परिवारका लागि नयाँ घर निर्माण गरिरहेको भीरकोट नगर सभापति यामप्रसाद अधिकारी (लक्ष्मण)ले जानकारी दिनुभयो ।