सुलीकोट समाचारदाता
सुलीकोट, साउन १० गते । गोरखामा दुई हजारभन्दा बढी घरधुरीमा खानेपानीको नयाँ धारा जडान गरिएको छ । गण्डकी प्रदेश सरकारले सुरु गरेको एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/८२ मा उक्त धारा जडान भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश सरकारको एक घर एक धारा कार्यव्रक्रम अन्तर्गत कार्यक्रममार्फत गोरखामा हरेक वर्ष खानेपानीको पहुँच विस्तार भइरहेको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख बस्नेतले भन्नुभयो, “यहाँका ११ वटा पालिकाको ९४ वडामा स्थानीयको माग अनुसार धारा जडान भइरहेको छ । उक्त धारा जडानका लागि आवको २०८१/८२ मा ६० करोड ४८ लाख बजेट विनियोजन भएकोमा ५९ करोड ४२ लाख २४ हजार सात सय रुपियाँ रकमबाट दुई हजारभन्दा बढी नयाँ धारा जडान भएका छन् ।” खानेपानी तथा डिभिजन कार्यालय गोरखाले ५६ करोड ९८ लाख पुँजीगत र तीन करोड ५० लाख चालु खर्च गरेको छ । गोरखामा आव २०७५/७६ बाट नै एक घर एक धारा अभियान सुरु भएर काम अघि बढेको थियो । त्यसै अनुरूप गोरखामा एक घर एक धारा कार्यक्रम अन्तर्गत अहिलेसम्म ३४ हजार ५७ धारा निर्माण भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले जनाएको छ ।
कार्यालयका अनुसार आव २०७५/७६ मा दुई हजार ८६९, २०७६/७७ मा नौ हजार ४२, २०७७/७८ मा दुई हजार ९३८, २०७८/७९ मा चार हजार २९९, २०७९/८० मा १२ हजार पाँच सय धारा निर्माण भएको थियो ।