• १० साउन २०८२, शनिबार

करदाता सेवा कार्यालयद्वारा ७८ दशमलव ३७ प्रतिशत राजस्व सङ्कलन

blog

करदाता सेवा कार्यालय चन्द्रपुर,रौतहट । तस्बिर : प्रवीणकुमार शर्मा

प्रवीणकुमार शर्मा 
चन्द्रपुर (रौतहट), साउन १० गते ।
करदाता सेवा कार्यालय चन्द्रपुर, रौतहटले गत आर्थिक वर्षमा लक्ष्यको ७८ दशमलव ३७  प्रतिशत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ५० करोड ५६ लाख २५  हजार सङ्कलनको लक्ष्य रहेकोमा ३९ करोड ६२ लाख ४६ हजार राजस्व सङ्कलन भएको करदाता सेवा कार्यालय चन्द्रपुर, रौतहटका सूचना अधिकारि एवम् निमित कर अधिकृत सजिना श्रेष्ठले बताउनुभयो  ।

सङ्कलन भएको राजस्व अघिल्लो आर्थिक वर्षभन्दा १४ दशमलव ४१ प्रतिशतले बढी रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ३८  करोड १८  लाख १०  हजार  राजस्व सङ्कलन गरेको थियो । सङ्कलन भएको राजस्व लक्ष्यको ६३ दशमलव ९६  प्रतिशत रहेको थियो ।

सूचना अधिकारी श्रेष्ठका अनुसार कार्यालयबाट आयकर तर्फ २१  करोड ६९  लाख ७८  हजार, मूल्य अभिवृद्धिकरतर्फ १५  करोड ३७ लाख तीन हजार, अन्त शुल्कतर्फ ५९  लाख ७३ हजार, बहाल करतर्फ ६२ लाख ९८ हजार र ब्याजतर्फ १ करोड ३२ लाख ९५ हजार  राजस्व सङ्कलन भएको हो ।  

करदाता सेवा कार्यालय चन्द्रपुरको कार्य क्षेत्र रौतहटको १८ वटा स्थानिय तहमध्ये जम्मा सात वटा रहेको छ ।

हालसम्म आयकरतर्फ १६ हजार नौ सय ७७, मुअकरतर्फ छ हजार दुई सय २५, अन्तशुल्कतर्फ पाँच सय २९ तथा व्यक्तिगत प्यानतर्फ एघार हजार ६ सय ६४ करदाता रहेको कार्यालयले जनाएको छ ।

नागरिकलाई करप्रति सकरात्मक बनाउन आर्थिक वर्ष २०८१/०८२ मा ८ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानीय तह तथा उद्योग वाणिजय सङ्घ लगायतका सङ्घ, संस्थासँग समन्वय गरी करदाता शिक्षा सञ्चालन, कर तिर्न बाँकी रहेका व्यवसायी तथा नागरिकलाई करसम्बन्धी आवश्यक परामर्श प्रदान, करदातालाई समयमा कर तिर्न म्यासेज, फोन र सूचना लगायतका क्रियाकलापमा विशेष रूपले जोड गरेका कारण राजस्व सङ्कलनमा वृद्धि भएको श्रेष्ठले बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न कार्य योजना बनाएर अघि बढेको जानकारी दिनुभयो ।

बजार अनुगमनलाई तीव्रता, उद्योग वाणिज्य सङ्घ लगायत सङ्घसंस्थासँग समन्वय गर्दै करदाता शिक्षा सञ्चालन, २०८१ चैत मसान्त सम्मको मूल्य अभिवृद्धि करमा ब्याजको ७५ प्रतिशत सहुलियतबारे व्यापक प्रचारप्रसार लगायतका कार्यमा विशेष जोड दिँदै लक्ष्य अनुसारको राजस्व सङ्कलनमा अग्रसर हुने जानकारी उहाँले दिनुभयो ।