राजन रावत
हुम्ला, साउन १० गते । हिल्सा सिमकोट सडकखण्डको सबैभन्दा असजिलो र चट्टानी क्षेत्र रहेको च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । विस्फोट गर्ने कार्य सकिएसँगै मेसिनले ढुङ्गा फुटाउने र सडकको ग्रेड मिलाउन कार्य भइरहेका कारण सडक निर्माण अन्तिम चरणमा पुगेको हो ।
निक्कै असजिलो चट्टानी क्षेत्रका रूपमा परिचित च्याछरा सडकको स्तरोन्नति गर्ने कार्य अन्तिम चरणमा पुगेको ओसिस इन्जिनीयरिङ एन्ड ब्वील्डर प्रालिका प्रतिनिधि हरि बोगटीले बताउनुभयो ।
सिमकोटबाट हिल्सातर्फ जाने च्याछराको चट्टानी क्षेत्रको काम सम्पन्न भएको र अब हिल्साबाट सिमकोटतर्फ आउने थोरै चट्टानी क्षेत्रको स्काभेटरको बकेटले ढुङ्गा फुटाउने काम भइरहेको उहाँले बताउनुभयो ।
अब केही दिनमा त्यो भीर पनि मेसिनबाट फुटाएर सडकको रूप दिने र त्यसलाई सम्याउने र चौडा पार्ने कार्य गरिने भएको छ । साँढे आठ मिटर चौडा सडक निर्माण गरिएको, भीर क्षेत्रको दक्षिणतर्फ सिमेन्टेट रिटर्निङ वाल लगाउने कार्य पनि सम्पन्न भएको छ । सडकको स्तरोन्नति गर्ने कार्य पूरा सडक ढलान गर्ने कार्य गरिने छ । बाँकी काम निर्धारित मितिमा सम्पन्न गरिने उहाँले बताउनुभयो ।
हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले मुख्य सडक भएका कारण दैनिक काम रोकेर यातायात पनि सुचारु गर्नुपर्ने भएका कारण निर्माण कार्यमा ढिलाइ भएको बताउनुभयो । उहाँका अनुसार समग्रमा सडकको निर्माण कार्य सन्तोषजनक रहेको छ ।
उक्त सडक स्तरोन्नति कार्यका लागि २०७९ सालको चैत १४ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो भने यो काम २०८२ साल चैत १३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ । कुल लागत ३४ करोड ६५ लाख ८१ हजार १७९ रुपियाँ रहेकोमा हालसम्म २२ करोड छ लाख ६६ हजार ७० रुपियाँ भुक्तानी भएर ६३ दशमलव ५० प्रतिशत वित्तीय प्रगति भएको छ । च्याछराबाट आकी कान्नसम्मको १६ दशमलव ७ किलोमिटर सडकको स्तरोन्नति कार्य ८० प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।