सुधा देव
भारदह (सप्तरी), साउन १० गते । सप्तरीको रूपनी गाउँपालिका– पौवा टोलमा शुक्रबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्युु भएको छ ।
आफुले चलाउदै आएको सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर स्थानीय ४७ वर्षीय बालेश्वर खंग र उनकी ४५ वर्षीया श्रीमती रामकुमारी खंगको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदय राईले जानकारी दिनुभएको छ ।
मृृतकका दुई सन्तान छोराहरू मध्ये कान्छो छोरा फरक क्षमता भएको र आमाबाबुको एकैपटक अल्पायुमा मृत्युु भएपछि परिवारमा ठुलो बज्रपात परेको रूपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘यो एकदमै दुःखद घटना भएकाले गाउँपालिका शोकमा डुबेको छ ।’’
प्रहरीले आवश्यक प्रक्रिया पुर्याइ मृतकद्वयको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको र घटनाको अनुसन्धान भइरहेको राईले जानकारी दिनुभएको छ ।