मकवानपुर समाचारदाता
मकवानपुर, साउन १० गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीबाट हटाउन भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङसमक्ष प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
प्रदेश सभा सदस्य श्रीराम लामिछानेले आफूसहित २१ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गराएको जानकारी दिनुभयो । उहाँले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा प्रदेश सरकारबाट राजीनामा दिएका मन्त्रीसमेत रहेका बताउनुभयो ।
प्रदेश सभामा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् । कांग्रेस बागमती प्रदेश सभाको संसदीय दलको नेताका लागि २०७९ पुसमा भएको निर्वाचनमा २१ मत प्राप्त गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका तामाङ निर्वाचित हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गर्नुभएको थियो ।
चार मन्त्रीद्वारा राजीनामा
मकवानपुरगढी समाचारदाताका अनुसार यसअघि बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका थिए । राजीनामा दिने चारै जना नेपाली कांग्रेसबाट प्रतिनिधित्व गरी मन्त्री बनेका हुन् ।
बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा आठ जना सामेल थिए । तीमध्ये चार जनाले राजीनामा दिएका छन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने हुनुहुन्छ ।
संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रव्रिmयाका लागि कांग्रेस प्रदेश सभा सदस्यहरूले प्रक्रिया अघि बढाएका छन् ।