सर्लाही समाचारदाता
सर्लाही, साउन १० गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानी र नयाँरोड–मधुवनी सडकखण्ड अन्तर्गत हरिवन नगरपालिका–१०, धरहरामा नयाँ पुल निर्माण गरिने भएको छ । यी दुवै ठाउँमा अहिले ‘सिङ्गल लेन’ पुल रहेका छन् । हुलाकी सडक आयोजना जनकपुरधामले दुवै स्थानमा अब ‘डबल लेन’ पुल निर्माण गर्ने जनाएको हो ।
हुलाकी सडक आयोजना जनकपुरका इन्जिनियर एवं सूचना अधिकारी रञ्जित यादवले ‘डबल लेन’ पुल निर्माणका लागि तयारी अगाडि बढाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले रहेका पुल अत्यन्त साँघुरो रहेकाले बारम्बार सवारी दुर्घटना भइरहेको छ । त्यसैले ती स्थानमा नयाँ पुल निर्माण गर्न लागिएको हो ।”
उहाँका अनुसार पुल बनाउनुपर्ने ठाउँमा बागमती सिँचाइ आयोजनाको नहर रहेकाले आयोजनासँग पनि समन्वय भइरहेको छ । बागमती सिँचाइ आयोजनाले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको पानी यहीँ भएर महोत्तरीतर्फ लाने बताएकाले पानी निकास हुने गरी पुल निर्माण गरिदिन आग्रह गरेकाले पुलका लागि नयाँ डिजाइन बनाउनुपर्ने अवस्था आएको इन्जिनियर यादवको भनाइ छ ।
इन्जिनियर यादवले भन्नुभयो, “तत्काल पुल निर्माण गर्ने तयारीमा थियौँ तर बागमती सिँचाइ आयोजनाले नहर बढाउने भएकाले पुलको डिजाइन फेर्नुपर्ने अवस्था आएको छ । हामी डिजाइन परिवर्तन गरेर ‘डबल लेन’ को पुल बनाउने तयारी गर्दै छौँ ।” बागमती सिँचाइ आयोजनाका सूचना अधिकारी राजन श्रेष्ठले सुनकोशीको पानी आएपछि समस्या हुने भएकाले पुल निर्माण गर्दा ध्यान दिन सडक कार्यालयको ध्यानाकर्षण गराएको बताउनुभयो ।
सडक कार्यालय डिजाइन फेरेर पुल निर्माण गर्न तयार भइसकेको आयोजनाका सूचना अधिकारी श्रेष्ठको भनाइ छ । नवलपुर–मलङ्गवा सडककै हरिपुर नगरपालिकास्थित फरहदवा ढङ्ग्राखोलामा रहेको ‘सिङ्गल लेन’ पुलको ठाउँमा भर्खरै ‘डबल लेन’ पुल निर्माण भइसकेको छ ।
नयाँरोड–बरहथवा सडकखण्डको बरहथवा नगरपालिका–१२, पुरैनियामा भने मुआब्जा विवादले दायाँबायाँको भागमा सडक बन्न नसक्दा पक्की पुल निर्माण भएर पनि सञ्चालनमा आउन सकेको छैन ।