धीरेन्द्रप्रसाद साह
जनकपुर, साउन ९ गते । नेपालका ग्रामीण भेगमा रहेको इँटा भट्टाका श्रमिक पीडामाथि आधारित लघु वृत्तचित्र (डकुमेन्ट्री) ‘‘इँटा भट्टा द किलिङ किल्न’’ इङ्ल्याण्डमा फिल्म फेस्टिभलको लागि छनोटमा परेको छ । योसँगै ‘‘इँटा भट्टा, द किलिङ किल्न’’ अन्तर्राष्ट्रिय स्तरमा दोस्रो पटक छनोटमा परेको हो ।
१५ मिनेटको यो डकुमेन्ट्री फिल्म इङ्ल्याण्डका रुरल एक्सन फिल्म फेस्टिबलमा औपचारिक रूपमा मनोनयनमा परेको छ । इङ्ल्याण्डमा आउँदो अगस्तको पहिलो सातामा आयोजना हुने फेस्टिभलमा डकुमेन्ट्री प्रदर्शन हुने निर्माता सुरेश मुखियाले जानकारी दिनुभयो ।
यसअघि इँटा भट्टा डकुमेन्ट्री पेरिस को बार्सिलोनामा भएको अन्तर्राष्ट्रिय वातावरणीय फिल्म फेस्टिभलमा ३१ औं संस्करणमा छनोटमा परेर प्रदर्शन भइसकेको छ । त्यहाँ २०२४ नोभेम्बर १ देखि २३ सम्म आयोजना गरिएको फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।
यस वृत्तचित्रमा तराई क्षेत्रमा जरा गाडेर बसेका इँटा भट्टा उद्योगहरूबाट हुने वायु प्रदूषण, श्रमिक शोषण, बालश्रम र सामाजिक असमानताको कुरालाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।
वृत्तचित्र निर्माता मुखियाको लेखन र निर्देशनमा निर्मित इँटा भट्टामा कामदार मजदुरको दैनिक जीवनशैलीलाई चित्रण गरेर वातावरणमा पार्ने प्रतिकूल प्रभावलाई समेटेको छ । यो लघु फिल्म बनाउन तीन महिना इँटा भट्टाका कामदार श्रमिकहरुसँग नजिक बसेर, उनीहरुको वास्तविक जीवनशैली क्यामरामा उतारेको उहाँले बताउनुभयो । उहाँका अनुसार इँटा भट्टा वातावरणीय प्रभाव र वरपरका जनजीवनको दैनिक पीडामा आधारित छ ।
"इँटा भट्टाबाट निस्किने धुवाँ, धुलोको सानो स्ट्रोकले व्यक्तिलाई असहज बनाउन सक्छ", उहाँले भन्नुभयो, "अब एउटा यस्तो परिदृश्यको कल्पना गर्नुहोस् जहाँ यस्तो इँटाभट्टा वरिपरि वर्षौंदेखि धेरै गाउँहरु छन्, त्यहा जन्मिने बच्चाहरु हानिकारक धुवाँ धुलोले भरिएको वातावरणमा जीवनको पहिलो श्वास लिने गरेका छन् ।" उनीहरुको यस पीड़ालाई बोल्ने र सोबारे बहस सिर्जना गरेर उचित वातावरणको निर्माणमा सहयोग पुर्याउने उद्देश्यले इँटाभट्टा डकुमेन्ट्री निर्माण गरेका छौ । उहाँले थप्नुभयो, "यो एउटा सानो तर आवश्यक प्रयास हुन्छ भन्ने धारणा राखेर यो डकुमेन्ट्री निर्माण गरेका छौं।"
वृत्तचित्रमा धुलो र धुवाँले ढाकिएको तराईका खेत, खोला र बस्तीबिच काम गरिरहेका मजदुर, खोकी लाग्दै इँटा उठाइरहेका बालश्रमिक, र डोकाले भरिएको चुल्होको दृश्यले दर्शकलाई झकझक्याउने खालको रहेको उहाँले जानकारी दिनुभयो ।
फिल्मले सामाजिक न्याय, श्रम अधिकार र वातावरणीय चेतनाका गम्भीर विषयलाई उठान गरेको छ । यसले दर्शकलाई मात्र होइन, नीति निर्माण तहसम्म सोच्न बाध्य बनाउने सन्देश दिन खोजेको छ । निर्देशक मुखियाका अनुसार, “यो केवल एउटा डकुमेन्ट्री मात्र होइन, वर्षौँदेखि उपेक्षित आवाजहरूको प्रतिनिधि स्वर हो, जसले अब अन्तर्राष्ट्रिय मञ्चमा बहसको ढोका खोल्नेछ ।”
यो वृत्तचित्र प्रथम पटक रामेछाप जिल्लामा आयोजित नेपाल ग्रामीण चलचित्र महोत्सव २०८१ मा आधिकारिक रुपमा छनोट भएर प्रिमियर भएको थियो भने जुलाई २ देखि ३ सम्म कोशी प्रदेशको विराटनगरमा आयोजित क्यानेडा नेपाल माउन्टेन फिल्म फेस्टिभल २०२४ मा पनि आधिकारिक रुपमा छनोट भएर प्रदर्शन भएको निर्माता मुखियाले जानकारी दिनुभयो ।