• १० साउन २०८२, शनिबार

खडेरीको मारमा किसान, कतै रोपाइँ कतै सुक्खा

blog

रोपाइँ नभएको इस्मा गाउँपालिका–२ को छल्दीटारी फाँट । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा, साउन ९ गते । साउन पहिलो सातासम्म जिल्लाका केही ठूला फाँटहरुमा रोपाइँ सुरु भएको छैन । पानी परेपछि मूल फुटेर रोपाइँ हुने खेतहरुमा पनि सोचेअनुसारको रोपाइँ छैन । 

असारको भलपानीले रोपिएको रोपो पनि सुकेर जान थालेपछि किसान खडेरीको मारमा परेका हुन् । असार साउन मानो रोपेर मुरी उब्जाउने बेला भएकाले पनि किसानहरु खेतबारीको कामम व्यस्त हुन्छन् । 

बेलामा रोपाइँ नहुँदा मङ्सिरमा धान भित्र्याउने आशा मारेको इस्मा गाउँपालिका–२ छल्दीका किसान कृष्ण श्रेष्ठले गुनासो गर्नुभयो । ढावतिरका केही गराहरुमा धान रोपाइँ भए पनि १० रोपनीभन्दा धेरै खेत बाँझै रहेको श्रेष्ठले बताउनुभयो । जिल्लाका ठूला मध्यको छल्दी फाँटमा ६०–६५ जनाको रोपाइँ भएको छैन । 


जिल्लाको धानखेती हुने क्षेत्रमध्ये सबै ठाउँमा खोलाको सिँचाइ सुविधा छैन । आकाशे पानीको भरमा धान खेती हुने खोला किनारभन्दा माथिल्ला बस्तीहरुमा रोपिएको रोपो सुक्न थालेको छ । मदाने गाउँपालिका –३ सिर्सेनीका शिवबहादुर घर्तीले पानी आउला भनेर भलपानीले रोपेको रोपो सुकेर काम नलाग्ने हुन थालेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “साउनमा अहिलेको जस्तो खडेरी मैले जानेको थिइनँ । मकै हावाले ढालेर र जङ्गली जनावरले सके, धान खडेरीले सक्ने भयो ।” असार अन्तिम साता आएको हावाले स्थानीय जातको मकै ढलेर नष्ट भएको छ । त्यसैमाथि वर्षदिन थेग्ने धान पनि कतै रोप्न नै नपाउने र कतै रोपो सुकेपछि किसानहरु मर्कामा परेको घर्तीले गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्र गुल्मीले भने आजसम्म ८३.७ प्रतिशत धान रोपाइँ भएको दावी गर्छ । मकै र जर्डन धान भएका केही ठुला फाँटहरुमा बाहेक रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी शिवप्रसाद बन्जाडेले बताउनुभयो । जिल्लाको १२ वटै स्थानीय तहका विभिन्न फाँटहरुमा धान रोप्ने गरिएको छ । 

कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवप्रसाद बन्जाडेका अनुसार गुल्मी जिल्लामा चैते धान ३१९ हेक्टर र बर्षे धान सात हजार १२० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । 

गुल्मीमा चैते धान प्रतिहेक्टर ४.०३ र बर्सेमा ३.२५ मेट्रिक टन धान उत्पादन हुने बन्जाडेले बताउनुभयो । उहाँले जिल्लामा चैतेधान एक हजार २८६ र बर्से २३ हजार १४० मेट्रिक टन उत्पादन हुने बताउनुभयो । 


जिल्लामा हंशराज, आँपझोते, झोप्री, काठे, झिनुवा, सानो भट्टे, ठूलो भट्टे, कोदे, बडियारे, लहरे बडियारे, थापचिनी, गुडुरो, ढल्लेलोई, पाखे धान, रातो मार्सी धान, मार्सी जातका धानहरु छन् । 

कम उत्पादन हुने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् । उन्नत जातहरुमा युएस ३१२, साँवा मन्सुली, मकवानपुर १, खुमल ४, रामधान,  हिमाली हाईब्रिड धान शङ्कर, उपज, च्याम्पियन छन् ।