• १० साउन २०८२, शनिबार

चेसमा विश्वविजयको उत्कृष्ट प्रदर्शन जारी

blog

विश्वविजय घिमिरे ।

काठमाडौँ, साउन ८ गते । भारतको गोवामा जारी २४औँ विश्व आईपिसिए चेस च्याम्पियनसिपमा नेपालका खेलाडी विश्वविजय घिमिरेले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्नुभएको छ ।

उहाँ तीन अङ्क जोड्दै समग्रमा तेस्रो स्थानमा हुनुहुन्छ । प्रतियोगिताको तेस्रो दिन नेपाली खेलाडी विश्वविजयले  भारतीय खेलाडी श्रीष कुलकर्णी र चौथो चरणमा आशाराम आदित्य घुलेलाई पराजित गर्नुभयो ।

उहाँले यसअघि पहिलो खेलमा दिनेश कुमार माथि जित र दोस्रो खेलमा रसियाका गेडगाफोभ चमलसँग हार खेप्नुभएको थियो । 

विश्व वुद्धिचाल महासङ्घ (फिडे) को आधिकारिक विश्व आइपिसिए बुद्धिचाल प्रतियोगितामा पूर्ण चार अङ्कसहित रुसका फिडे मास्टर इलिया लिपिलिन र १९६१ रेटेड मिखायल डिजेनिसेनिया संयुक्त शीर्षस्थानमा हुनुहुन्छ । 

स्वीस लिग प्रणाली अनुसार नौ चरणसम्म संचालन हुने प्रतियोगितामा १७ राष्ट्रका ९७ जना खेलाडीहरु प्रतिस्पर्धामा छन्। यसैबिच नेपाल बुद्धिचाल महासङ्घका अध्यक्ष हिराकाजी महर्जनले गोवास्थित प्रतियोगिता स्थलमा एशियन चेस फेडेरेशनका उपाध्यक्ष भरत सिंह चौहान र वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिप टुर्नामेन्ट डाइरेक्टर आनान्द बाबुसँग बिहीबार भेटवार्ता गर्नुभएको छ ।

उक्त अवसरमा नेपाली चेसको बृहत्तर विकासका लागि महत्वपूर्ण छलफल भएको थियो ।