कानो, नाइजेरिया, साउन ८ गते । नाइजेरियामा सुरक्षाकर्मीको कारबाहीमा एक सशस्त्र आपराधिक गिरोहका कम्तीमा ९५ जना सदस्यको मृत्यु भएको बिहीबार संयुक्त राष्ट्रसङ्घद्वारा दिइएको जानकारीमा जनाइएको छ । नाइजेरियाली सेनाले यस हप्ताको सुरुदेखि सुरू गरेको स्थल तथा हवाई आक्रमणमा आपराधिक गिरोहतर्फ ठुलो हताहत भएको हो ।
गरिबी र सरकारी उपेक्षाका बिच नाइजेरियाको ग्रामीण इलाकामा सशस्त्र आपराधिक गिरोहको पकड रहेको छ । तिनीहरूले फिरौतीको लागि गाउँहरूमा छापा मार्छन्, लुट्छन् र घरहरूमा आगो लगाउँछन् । उनीहरूले गाउँलेबाट अनधिकृतरूपमा कर उठाउने र विरोध गर्ने गाउलेको हत्या गर्ने वा अपहरण गर्ने घटनाहरू सामान्यजस्तै वर्षभरि भइरहन्छन् ।
मङ्गलबार नाइजेरियाली वायु तथा स्थल सेनाले उत्तरपश्चिमी राज्य नाइजरमा ‘डाकुले गरेको आक्रमणलाई विफल पार्नुका साथै हवाई तथा स्थल आक्रमण’ गरेको एक निजी द्वन्द्व अनुगमनकर्ता संस्थाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ । रिजाउ स्थानीय सरकारी क्षेत्रको वारारी र रागाडा गाउँनजिकै भएको झडपमा कम्तीमा ९५ डाकुको मृत्यु भएको जनाइएको छ ।
नाइजेरियाली सेनाले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सेनाले दर्जनौँ आतङ्ककारीलाई झडपमा परास्त गरेको छ भने उनीहरूको तर्फबाट भएका थुप्रै आक्रमणलाई निष्प्रभावी बनाएको छ । झडपमा एक सैनिकको मृत्यु भएको बताइएको छ ।
विगतमा आफ्नो उपलब्धिको प्रचार गर्ने र कहिलेकाहीं अतिरन्जित गर्ने गरेको नाइजेरियाली सेनाले धेरै डाकुहरू मारिएको घटनाप्रति तत्काल कुनै प्रतिक्रिया दिएको छैन । सेनाले गाउँलेहरूमाथि भएको धेरै आक्रमणपछि कारबाही गरेको थियो । सेनाले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ । रासस/एएफपी