नवीनराज कुइँकेल
लमजुङ, साउन ८ गते । नेपाल महिला राष्ट्रिय फुटबल टोलीको क्याप्टेन सावित्रा भण्डारी (साम्बा) लाई जन्मथलो मर्स्याङ्दी गाउँपालिकामा भव्य सम्मान गरिएको छ ।
एक कार्यक्रमबिच बिहीबार लमजुङको मर्स्याङ्दी गाउँपालिकासहित विभिन्न संस्थाले साम्बालाई सम्मान गरेको हो । साम्बालाई गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाइँ, खेलकुद विकास समितिका अध्यक्ष खेम घलेले सयुक्त रूपमा सम्मानपत्रसहित खादामाला र दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सो अबसरमा साम्बाले गाउँपालिका अध्यक्ष गुरुङलाई आफ्नो नौ नम्बर जर्सी उपहार दिनुभएको थियो ।
मर्स्याङ्दी गाउँपालिका–९, पामचोकको सामान्य परिवारमा जन्मिएर फुटबल खेलमार्फत राष्ट्रलाई विश्वसामु र सार्क राष्ट्रबिच चिनाउँदै लमजुङ र मर्स्याङ्दी पालिकाको इज्जत र गौरव बढाएको भन्दै साम्बालाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
उपप्रमुख जुनामाया थापाले पछिल्लो समय महिलाहरू खेलकुददेखि हरेक क्षेत्रमा अघि बढ्दै गएकोप्रति खुसी व्यक्त गर्दै लैङ्गिक समानताका लागि सबै महिलाले पुरुषभन्दा कम छैन भन्ने मनोबलका साथ अघि बढ्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी बल क्लबबाट व्यावसायिक फुटबल खेल्न सुरु गर्नुभएकी साम्बाले हालै अस्ट्रेलियाको निन्जा ए लिगमा खेल्न अनुबन्धित हनुभएको छ । उहाँले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गर्नुभएको हो ।
वेलिङटन न्युजिल्याण्डको क्लब भए पनि अस्ट्रेलियाको निन्जा ए लिग खेल्दै आएको छ । साम्बाले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गर्नुभएको थियो ।
भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि साम्बाले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाउनुभएको थियो ।
गृहनगरमा आयोजित सम्मान तथा अन्डर १९ फुलबल खेलाडीहरूसँग सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै फुटबलर साम्बाले कठिन सङ्घर्षबिच आफुँ यो ठाउँसम्म आइपुगेको बताउनुभयो । उहाँले सङ्घर्षबाट हार नखाँदै अघि बढ्न सकेमा सफलता हात पार्न सकिने बताउनुभयो ।
गाउँपालिकाले सावित्राको सम्मानार्थ मर्स्याङ्दी–९, खुदीबजार वारी सिम्पानी टोलमा साम्बाचोक बनाएको छ । बिहीबार साम्बाचोकमा फुटबलर सावित्रासँग प्रत्यक्ष भेटेर तस्बिर लिने र टिकटक बनाउनेको भिड लागेको थियो ।