काठमाडौँ, साउन ८ गते । मच्छिन्द्र फुटबल क्लब र एपिएफ क्लबले एन्फा यु–१६ युथ लिगमा कठिन जित निकालेको छ ।
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा मच्छिन्द्रले संकटा क्लबलाई २–१ गोलले हरायो । मच्छिन्द्रले पुनरागमन जित निकालेको हो । अर्को खेलमा एपिएफले न्युरोड टिम (एनआरटी) लाई १–० गोलले स्तब्ध बनायो ।
मच्छिन्द्रको जितमा राहुलकुमार योञ्जनले ४८औँ र गोविन्द विकले ८३औँ मिनेटमा गोल गर्नुभएको थियो । यसअघि संकटाका लागि पेम्बा तामाङले ३३औँ मिनेटमा सुरुवाती गोल गरेपनि टोलीको हार टरेन । जितसँगै मच्छिन्द्रले आठ खेलबाट १७ अङ्क बनाएको छ । पराजित संकटाको समान खेलबाट १८ अङ्क छ ।
यस्तै अर्को खेलमा एपिएफलाई जिताउन प्रकाश खनालले गोल गर्नुभयो । प्रकाशले पहिलो हाफको इन्जुरी समयमा गर्नुभएको गोल निर्णायक बनेको थियो ।
एनआरटीको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल भएन । जितसँगै एपिएफले आठ खेलबाट १५ अङ्क बनाएको छ । पराजित एनआरटीले समान खेलबाट पाँच अङ्क जोडेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिगको विजेता टोलीले एक लाख रुपियाँ र उपविजेता ५० हजार रुपियाँ पुरस्कार पाउनेछ ।
यस्तै व्यक्तिगत विधाका उत्कृष्ट खेलाडी र अनुशासित टोलीलाई १५/१५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।