• १० साउन २०८२, शनिबार

मधेशलाई सङ्कटग्रस्त र सुक्खा क्षेत्र घोषणा गरेर मात्र राज्यको दायित्त्व पूरा हुँदैन’

blog

तस्बिरः सङ्घीय संसद् सचिवालय

काठमाडौँ, साउन ८ गते। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कृष्णकुमार श्रेष्ठले मधेश प्रदेशमा तत्काल पिउने पानीको आपतकालीन आपूर्ती र पानीका स्रोतको मर्मतमा तत्काल कदम चाल्न सरकारको ध्यानार्कषण गराउनुभएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै उहाँले मधेश प्रदेशलाई विपद सङ्कट क्षेत्र घोषणा गरेता पनि समस्या समाधानका लागि सरकार गम्भीर नभएको भन्दै खेद प्रकट गर्नुभयो। 

मधेशमा सिँचाइ र खानेपानीको अभावबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनु भएका उहाँले पानीमाथि राजनीतिक नियन्त्रण भएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। 

“सिँचाइको अभाव र खानेपानीको अभावमा बाँचिरहेका मधेशका नगरिकको समस्यामा सरकार रमिते बनिरहेको छ”, सांसद श्रेष्ठले भन्नुभयो, “पिउने पानीको आपतकालिन आपूर्ति र पानीका स्रोतको मर्मतमा तत्काल चाल्न सक्ने कदम पनि चालेको छैन। नयाँ डिप बोरिङको राजनीतिकले छिमेकी जिल्लाका मन्त्रीका निर्वाचन क्षेत्रका जनतालाइै राहत मिल्ला तर मधेसका जनतालाई अन्य सात जिल्लाका नागरिकले सरकारले महसुस गर्न पाएका छैनन।”

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेश प्रदेशभर विपद सङ्कटग्रस्त घोषण गरेको थियो। त्यसअघि असारमा बसेको मन्त्रिपरिषद्को बैठकले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। 

नेपाली कांग्रेसका सांसद रमा कोइराला पौड्यालले मधेशमा पानीको अभावसम्बन्धी विषय सम्बोधनका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिनुभयो।

“सुख्खाग्रस्त क्षेत्र घोषणा मात्र गरेर पुग्दैन। त्यहाँका जनताले खानेपानी पाएका छैनन्। खानेपानी र सिँचाइको व्यवस्था गर्नुपर्‍याे”, उहाँले भन्नुभयो, “बजेट रकमान्तर गरेर भएपनि मधेसमा पानीको समस्या समाधान गर्न आग्रह गर्दछु।” 

नेकपा (माओवादी केन्द्र)का सांसद विमला सुवेदीले रसुवाको नौकुण्ड गाउपालिकामा दुई बालिकाको शङ्कास्पद मृत्यु भएको भन्दै उक्त घटनाबारे ढिलासुस्ती नगरी अनुसन्धान गर्न ध्यानार्कषण गराउनुभयो। 

बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा  (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले डेङ्गी सङ्क्रमण बढन थालेको भन्दै ‘खोज र नष्ट गर’ अभियान प्रभाjकारी बनाउन सम्बन्धीत निकायको ध्यानार्कषण गराउनुभयो।  

सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानार्कषण गराउँदै उहाँले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्नेपर्नेमा जोड दिनुभयो। 

सांसद गैरेले  पाल्पा जिल्लामा नसर्ने रोगहरू मुटु, क्यान्सर र मिर्गौला रोगका बिरामीको सङ्ख्या बढेका तर्फ सचेत गराउनुभयो। गुणस्तरहिन खाद्यवस्तुको उत्पादन र वितरण, धु्रमपान नियन्त्रण, खाद्य बालीमा अत्याधिक विषादी प्रयोग रोक्न र वातावरण प्रदुषण न्यूनीकरण गर्न सरकारसँग विशेष पहलको लागि माग गर्नुभयो। 

यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले चितवनको राप्ती नगरपालिकामा राजनीतिक खिचातानीका कारण कर्मचारी भर्ना र निकाल्ने काम भइरहेको बताउनुभयो। उहाँले यस नगरपालिकाका ६९ जना कर्मचारीलाई तत्काल पारिश्रमिक उपलब्ध गराउन सम्बन्धीत निकायको ध्यानार्कषण गराउनुभयो।

“६९ जना कर्मचारीले नगरपालिका घेराउ कार्यक्रम निरन्तर चलाएका छन। नौ महिनादेखि पारिश्रमिक र पुर्नबहालीको माग राखेर घेराउ गरिरहनुभएको छ। सम्बन्धीत नियकालाई न्यायीक कार्य थाल्नुपर्छ”, सांसद बरालीले भन्नुभयो। 

नेपाली कांग्रेसका सांसद दीपक गिरीले सडक दुर्घटनाको बढदो जोखिमबारे सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो। अमेरिकाको लुइसिया टेक युनिभर्सिटीमा अध्ययनरत दुई नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु भएको र उनीहरूको अभिभावकलाई दाहसंस्कारका लागि अमेरिकाको भिसा उपलब्ध गराउन सहज व्यवस्था गर्न समेत माग गर्नुभयो। 

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कर्णाली प्रदेशमा तुइन विस्थापन, किसानलाई मल र मधेशमा पानीको आपत्कालिन व्यवस्थापनलगायतका विषयमा सभामुखमार्फत सरकारको ध्यानार्कषण गराउनुभयो। उहाँले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्न माग गर्नुभयो। रासस