काठमाडौँ, साउन ८ गते। ‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले आजको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।
सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको कारबाही सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले रास्वपा सांसद तोसिमा कार्कीलाई बोल्ने समय दिनुभएको थियो।
‘भिजिट भिसा’ प्रकरणमा दुई महिनादेखि विरोध जनाउँदै आएको उल्लेख गर्दै सांसद कार्कीले उच्चस्तरीय छानबिन समिति नबनेसम्म विरोध नरोकिने बताउनुभयो। दुई प्रतिपक्षी दलले विरोध गर्दा पनि संसद् चल्ने अनौठो अभ्यास भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
भैँसेपाटीमा सडक विस्तार गर्न लाग्दा सशस्त्र प्रहरीले रोकेको बताउँदै सांसद कार्कीले स्थानीयको जग्गा अधिग्रहण गरेर बनेको मन्त्री भवनले बाटो विस्तार गर्न दिनुपर्ने माग गर्नुभयो। मन्त्रीले घुस माग गरेको अडियो टेप प्रकरणको सही छानबिन नभएको भन्दै उहाँले आपत्ति जनाउनुभयो।
राप्रपाका सांसद दीपकबहादुर सिंहले ‘भिजिट भिसा’ प्रकरणमा संसदीय छानबिन समिति नबन्दासम्म संसदमा विरोध जारी रहने बताउनुभयो। सरकारले सहिद गङ्गालाल अस्पताललाई सहुलियत वापतको ७० करोड नदिएकाले बच्चाको मुटुको उपचार रोकिएको भन्दै तत्काल उक्त रकम दिनुपर्ने माग गर्नुभयो।
‘भिजिट भिसा’ प्रकरणका नाममा संसदमा विरोध गर्दै आइरहेका दुई दल रास्वपा र राप्रपाबीच पनि कस्तो छानबिन समिति गठन गर्ने भन्ने विषमा मतैक्यता छैन। रास्वपाले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ भने राप्रपाले संसदीय समितिको माग राख्दै आएको छ।