• ९ साउन २०८२, शुक्रबार

सप्तरीमा पाँच दिनमा चार जनाको शव फेला

blog

राजगढ गाउँपालिका पाँचमा बुधबार फेला परेको शव । तस्बिर : सुधा देव

सुधा देव

भारदह(सप्तरी), साउन ८ गते । सप्तरीमा पाँच दिन यता चार जना मृत फेला परेका छन् । पछिल्लो पटक राजगढ गाउँपालिका ५ मलेकपुर कामत टोलमा रहेको धान खेतमा बुधबार एक जना अन्दाजी ४५ वर्षीया एक पुरूष मृत फेला परेका हुन् ।

स्थानीय गुलाब सिंहको खेतमा मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएका प्रहरीले कानुनी प्रक्रिया पूरा गरी अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । शवको पहिचान खुल्न सप्तरीमा नसके पनि शव मुस्लिम समुदाय जस्तो देखिएको उहाँले बताउनुभयो ।

सोही गाउँपालिका ३ मा जिल्लाको विष्णुपुर गाउँपालिका १ खुरहुरियाका २१ वर्षीय जितेन्द्र यादव मङ्गलबार झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उहाँको शव ससुरालीमा झुन्डिएको अवस्थामा फेला परेको हो । शव शङ्कास्पद अवस्था भेटिएकोले शव पोष्टमार्टमका लागि धरान पठाएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

मङ्गलबार जिल्लाको अग्नीसाई कृष्णासवरण गाउँपालिका ३ मट्टिगढामा रामजानकी टोलमा स्थानीय बलराम चौधरीको २२ वर्षिय छोरा गोलु भन्ने कृष्णकुमार चौधरी मृत फेला परेका थिए । यसैगरी राजविराज नगरपालिका ८ हिमालय टोलमा शनिबार झुन्डिएको अवस्थामा स्थानीय कृष्ण पोखरेलको घरमा डेला गरी बस्ने २९ वर्षीया ऋतु पौडेल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीले सूक्ष्म अनुसन्धान गरेर दोषीलाई कारबाही नभएकैले जिल्लामा यस्ता घटनामा दिनदिनै वृद्धि हुँदै गएको स्थानीयले बताएका छन् । यस विषयमा प्रवक्ता बस्नेतले घटनाहरूको प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको बताउनुभयो ।