• १० साउन २०८२, शनिबार

मलङ्गवा अस्पतालको सेवा सुचारु

blog

सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री 

सर्लाही, साउन ८ गते । सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा बिहीबारदेखि सेवा सुचारु भएको छ । गएको सोमबार सवारी दुर्घटनामा परी घाइते भई उपचारका लागि आएका एक जना बिरामीको आफन्तबाट अस्पतालका अर्थोपेडिक डा. कृष्णजङ्ग साहमाथि हातपात भएपछि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दोषीलाई कारबाही तथा शान्ति, सुरक्षाको माग गर्दै मङ्गलबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका थिए ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दोषी व्यक्तिहरूले माफी मागेपछि आन्दोलित चिकित्सक र स्वास्थ्यकर्मी नियमित काममा फर्किन तयार भएका हुन् । अस्पतालका सूचना अधिकारी डा. अविनाश सिंहले जिल्ला प्रहरी कार्यालयमा भएको सहमतीअनुसार आफूहरू बिहीबारदेखि काममा फर्किएको जानकारी दिनुभयो ।

अस्पतालमा दुई दिन लगातार ओपिडीसहितका सेवा ठप्प हुँदा बिरामी मारमा परेका थिए । तेस्रो दिनमा खुलेको अस्पतालमा ओपिडीसहित अन्य विभागमा बिरामीको अत्यधिक चाप देखिएको छ । सरकारी स्वामित्वको प्रादेशिक अस्पताल बन्द भएको मौकामा अस्पतालको गेटबाटै मलङ्गवाका निजी अस्पताल तथा क्लिनिकले बिरामी तानातान गरिरहेका देखिन्थ्यो । 

सोमबार राति चिकित्सकमाथि हातपात भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठाडो उजुरी परेको थियो । बुधबार साँझसम्म भएको छलफलमा चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरूले माफी मागेपछि उनीहरू विरुद्धको थप कारबाही अघि नबढाउने सहमति भएको छ । 

प्रादेशिक अस्पताल मलङ्गवामा यसरी चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बारम्बार हातपात र दुर्व्यवहार हुँदै आएकाले शान्ति, सुरक्षाको माग भने राखिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. सन्जिवकुमार सिंहले बताउनुभएको छ ।