नवीनराज कुइँकेल
लमजुङ, साउन ८ गते । लमजुङ सदरमुकाम बेँसीसहरमा रहेको प्रदेश अस्पतालमा जटिल सल्यक्रियासहितको सेवा पाउन थालेपछि सेवाग्राहीको आकर्षण बढ्दै गएको छ ।
उपचारका लागि जिल्ला बाहिर जान नपर्ने भएपछि प्रदेश अस्पताल बेँसीसहरले एक वर्षमा करिब सभा लाख बिरामीको उपचार गरेको छ । प्रदेश अस्पताल लमजुङमा एक वर्षको अवधिमा करिब सवा लाख सेवाग्राहीले सेवा लिएका हुन् ।
आर्थिक वर्ष २०८०–८१ को साउनदेखि २०८१–८२ को असार मसान्तसम्म एक लाख १३ हजार आठसय आठ जनाले सेवा लिएका हुन् । यो गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो ।
जिल्ला स्तरको अस्पतालले पनि प्रदेश अस्पताल सरह सेवा सुविधा दिएकाले दिन प्रतिदिन विरामीको सङ्ख्या बढ्दैगएको अस्पतालका अध्यक्ष हरिजङ्ग तामाङले बताउनुभयो । पोखरा, चितवन, काठमाडौँलगायत ठुला अस्पतालमा जानुपर्ने बिरामीलाई पनि जिल्लामै सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको अध्यक्ष तामाङले बताउनुभयो ।
प्रदेश अस्पतालले प्रदान गरेको सेवामा आकस्मिक सेवा लिनेमा नौ हजार ६ सय सात जना, अन्तरङ्ग सेवा लिनेमा दुई हजार नौ सय ३८ जना रहेका छन् । यसैगरी प्रयोगशाला सेवा लिने ४० हजार चार सय ४७ जना रहेका छन् भने ११ हजार ८ सय १६ सेवाग्राहीले अल्ट्रासाउन्ड, २४ हजार ९ सय १९ जनाले एक्सरे सेवा, नौ हजार एक सय ७५ जनाले इसिजी सेवा, एक हजार दुई सय ५९ जनाले इकोकार्डियोग्राफी सेवा, एक सय ८१ जनाले इन्डास्कोपी र चार सय ९१ जनाले टेलिमेडिसिन सेवा लिएका छन् ।
त्यस्तैगरी शल्यक्रिया सेवातर्फ एक हजार एक सय २४ जनाले सेवा लिएका छन् । जसमा एक सय ३८ जनाको स्त्रीरोग शल्यक्रिया, दुई सय १७ जनाको हाडजोर्नी शल्यक्रिया, चार सय ९९ जनाको जनरल शल्यक्रिया, १० जनाको दुरबिनबाट शल्यक्रिया र दुई सय ६० जनाको प्रसूतिसम्बन्धी शल्यक्रिया गरिएको छ ।
प्रदेश अस्पताल लमजुङले दिनप्रतिदिन आफ्नो सेवाहरू विस्तार गर्दै लगेकाले जिल्ला भित्र र छिमेकी जिल्ला मनाङ, गोरखा र तनहुँका केही भागका बिरामीहरू समेत उपचारका लागि आउने गरेका छन् । गत वर्षदेखि मिर्गौलाका बिरामीलाई डायलासिस सेवा उपलब्ध गराउँदैआएको अस्पतालले एक वर्षको अवधिमा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी टेलिमेडिसिन सेवा, इन्डाेस्कोपी सेवा लगायतका सेवा थप गर्दै आएको छ ।
पछिल्लो समय दूरबिनबाट शल्यक्रिया गर्ने सेवा पनि थप गरेको अस्पताल प्रमुख मेसु शिशिर देवकोटाले बताउनुभयो । धेरै सेवाहरू जिल्ला अस्पतालमा नै पाउन थालेपछि दैनिक चार सयदेखि पाँच सयको हाराहारीमा बिरामीहरू उपचारका लागि आउने गरेको देवकोटाले बताउनुभयो ।
अस्पतालमा बालरोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, छालारोग विषेशज्ञ लगायत विभिन्न एक दजर्नभन्दा बढी विषेशज्ञ डाक्टरहरू रहनुभएको छ ।