• १० साउन २०८२, शनिबार

काठेपुल बगाउँदा रिपवासी समस्यामा

blog

खडिखेतमा कर्णाली नदीले बगाएर लगेको काठेपुल बचेको भाग । तस्बिर : राजन रावत

राजन रावत 

हुम्ला, साउन ८ गते । सर्केगार्ड गाउँपालिका-२ र ६ को सिमानामा पर्ने खडिखेतको काठेपुल कर्णाली नदी बगाउँदा स्थानीय मर्कामा परेका छन् । दैनिक वर्षा भइरहेको कारण नदीमा पानीको बहाब बढेपछि स्थानीयले निर्माण गरेको काठेपुल बगाएर लगिएको हो ।

गत मङ्गलबार राति खडिखेतमा कर्णाली नदीमा पानीको बहाब बढेर स्थानीयले निर्माण गरेको काठेपुल बगाएर लगेको सर्केगार्ड–२, रिप गाउँका कालीबहादुर महताराले बताउनुभयो । यसअघि गत चैत महिनामा सो स्थानको तुइन विस्थापित गर्दै स्थानीयले जनश्रमदानमा सो काठेपुल निर्माण गर्नुभएको थियो । 

काठेपुल नदीले बगाएपछि रिप गाउँका साढे दुई सय घरधुरी समस्यामा परेको उहाँले बताउनुभयो । रिपतर्फको काठेपुलको भाग नदीले बगाएर लगेको छ भने खडिखेततर्फ थोरै काठेपुलको भाग देखिन्छ । उहाँले अब रिपवासी पहिलेकै अवस्था फर्किएको बताउनुभयो । सो काठेपुल बगाएपछि अब रिप गाउँवासी डेढ घण्टा हिडेर छारेमा आउनु पर्ने छ भने कि डेढ घण्टा हिडेर स्याल्तडी पुगेर झोलुङ्गे पुल तर्नुपर्ने छ । 

उक्त वडाका वडाध्यक्ष अकिल कार्कीले खडिखेतको कर्णाली नदी माथि निर्माण गरिएको काठेपुल बगाएर स्थानीयवासीलाई समस्या पारेको बताउनुभयो । उहाँले तुइन मुक्त भएको अवस्थामा पुन तुइन निर्माण गर्नु पर्ने अवस्था आएको बताउनुभयो । 

अब यसको दिर्घकालीन समस्या समाधानका लागि खडिखेतमा झोलुङ्गे पुल निर्माणको आवश्यकता खड्किएको उहाँले बताउनुभयो । स्थानीयले भने अब दुई तीन दिनमा तुइन निर्माण गरिने जनाएका छन् ।