• ९ साउन २०८२, शुक्रबार

तीन वर्षमा पुलको पिलरमात्रै

blog

तीन वर्षमा झोगुलामा निर्माण भएका पुलको पिल्लर । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा, साउन ८ गते ।
बाजुरा जिल्लाको हिमाली र मुगुको खत्याड गाउँपालिका बीचमा पर्ने कर्णाली नदिको झुगोलामा निर्माण हुन थालेको पक्की पुलको तीन वर्षमा एक पिलर मात्र निर्माण भएको छ । २०८१ साल मङ्सिरमा काम सम्पन्न गर्ने गरी २०७९ साल मङ्सिरमा कुशेश्वर कन्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ सालको मङ्सिरमा पुलको काम सुरु गरेको निर्माण कम्पनीले २०८२/०८३ साउनको पहिलो हप्तासम्म एक पिलर मात्र निर्माण गरेको छ ।

बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।

केही वर्ष पहिला झोगलामा बेलिब्रिज पुल निर्माण गरिएको थियो । अहिले यही पुलदेखि बाजुरा र मुगुमा यातायातका जिप, ट्याक्र र ट्रकलगायतका सावारी साधन सुचारु हुने गरेको छ । यद्यपि झोगलामा पक्की पुल चाँडो निर्माण भए सवारी साधन सञ्चालनका लागि थप सहज हुने स्थानीयवासीको भनाइ छ ।

२०७८ सालमा सम्झौता भए पनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाइ गरेपछि पुल निर्माणको काममा ढिलाइ भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौँका ठेकेदार जयराज घलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अरुभन्दा कर्णाली नदीमा पुल निर्माण गर्न निकै गाह्रो छ । यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ । पुसमा बल्ल त्यो पानीको बहाव घट्छ । अर्को यहाँ काम गर्दा केही सामान बिग्रियो भने पनि त्यो समान सपारेर यहाँसम्म पुर्‍याउन तीन/चार महिना लाग्छ ।”

अहिले एक वर्षको म्याद पुन थप गरेको छ । आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीव्र रुपमा भइरहेको ठेकेदार घलेले बताउनुभयो ।

यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो । कहिले सम्म काम सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताउनुभयो ।

यता झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरादेखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले यहाँ बेलिब्रिज छ । त्यसैबाट बाजुरादेखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन्  ।”

पक्की पुल निर्माणको काम चाँडो भइदिएको भए यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई थप निकै सहज हुने अध्यक्ष मल्लले बताउनुभयो ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाइ पक्की पुल निर्माण गर्नुपर्ने हो । त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपियाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ ।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ । अहिले एक पील्लरको काम सकेर अर्को बिचको पीलरको काम सुरु भएको पूर्वाधार विकास कार्यालय मुगुका सूचना अधिकारी यज्ञराज उपाध्यायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पुलको निर्माणको डिजाईन गर्दा नै धेरै समय लाग्यो । एक वर्ष त्यसरी नै गयो । एक वर्षपछि बल्ल डिजाइन पूरा भयो । ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍यो ।’’

अहिले फेरि म्याद थपिदिएको छ । त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको सूचना अधिकारी उपाध्यायले बताउनुभयो ।