सुलीकोट समाचारदाता
सुलीकोट, साउन ८ गते । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१, बारपाकमा २०७२ सालमा गएको महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका जिल्लाभरिका ४९० जना मृतकको नामावली बारापाकमा बनेको स्मृति उद्यानमा राखिएको सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पुरुषत्तोम पङ्गेनीले जानकारी दिनुभयो ।
महाविनाशकारी भूकम्पमा परी ज्यान गुमाएका १४ वटा जिल्लाकै मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गृह मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखामा भूकम्पमा परी मृत्यु भएकाको मात्र नामावली राखिएको छ ।
२०७२ सालदेखि नै १४ वटै जिल्लाको मृतकको नामावली खोजेर एकै ठाउँमा राख्ने निर्णय भए पनि गृह मन्त्रालयले सबै मृतककको नाम उपलब्ध गराउन नसक्दा ढिला भएको बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो ।
सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखराका इन्जिनियर पङ्गेनीले भन्नुभयो, “१४ वटै जिल्लाका मृतकको नामावली गृहमन्त्रालयसँग पटक पटक उपलब्ध गराउन पत्रचार गर्दासमेत उपलब्ध भएन । नामावली उपलब्ध हुन नसकेपछि केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट नै गोरखा जिल्लाका मृतकको मात्र नामावली स्मृति उद्यानमा राख्ने निर्णय भएको छ ।”
सबै मृतकको समयमै नाम उपलब्ध गराउन नसक्दा स्मृति उद्यानको काममा पनि ढिलाइ भएको उहाँले बताउनुभयो । २०७४ सालमा मङ्सिर १४ गते १३ करोड छ लाख ३४ हजार रुपियाँमा २०७६ सालमा सम्पन्न हुने गरी सङ्घीय आयोजना कार्यान्वयन एकाइ पोखरा र होम निर्माण जेभीसँग ठेक्का सम्झौता भएर उद्यान निर्माणको काम सुरु भए पनि त्यसको ठिक झन्डै आठ वर्षपछि स्मृति उद्यान सम्पन्न भएको इन्जिनियर पङ्गेनीले जानकारी दिनुभयो ।
बारपाक–१ मा सरकारी स्वामित्वमा रहेको २१६ रोपनी क्षेत्रफलमा स्तम्भ बगैँचालगायतका अन्य संरचना निर्माण सम्पन्न भएको इन्जिनियर पङ्गेनीले बताउनुभयो ।