• ९ साउन २०८२, शुक्रबार

ताल बचाउन हस्ताक्षर

blog

ऐतिहासिक कान्तितालको सौन्दर्य बचाउन हस्ताक्षर गर्दै स्थानीय । तस्बिर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, साउन ८ गते ।  बाँकेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको ऐतिहासिक कान्तितालको सौन्दर्य बचाउन हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको छ । ग्रिन नेपालगन्ज तथा क्लिन नेपालगन्जका संयोजक डा. विनोद कर्णले प्राकृतिक ताल र तलाउ मासिँदै गएको बताउनुभयो । उहाँले नेपालगन्जमा रहेको ऐतिहासिक कान्तितालको समेत संरक्षण, रेखदेख र सरसफाइमा ध्यान नदिइएकाले सो तालको सौन्दर्य बचाउन दबाब दिने उद्देश्यले हस्ताक्षर सङ्कलन अभियान सुरु गरिएको बताउनुभयो । 

उहाँले केही दिनअघिदेखि सुरु भएको हस्ताक्षर सङ्कलन अभियान अझै केही दिन जारी रहने जनाउँदै हालसम्म करिब चार सय जनाको हस्ताक्षर सङ्कलन भएको बताउनुभयो । कान्तितालको सौन्दर्य बचाउन र सिमसार क्षेत्रका रूपमा विकास गर्न दबाब दिन सङ्कलन भएका हस्ताक्षरलाई जिल्ला प्रशासन कार्यालय, बाँके र नेपालगन्ज उपमहानगरपालिकालाई बुझाउने कार्यक्रम रहेको संयोजक डा. कर्णको भनाइ छ । डा. कर्णले भन्नुभयो, “कान्तितालमा रेलिङ भाँचिएको छ, फोहोरको कुनै व्यवस्थापन गरिएको छैन र पछिल्लो समय मदिरा सेवन गर्ने अखडासमेत बन्न थालेको हुँदा त्यसको सौन्दर्य सङ्कटमा परेको छ ।” 

विभिन्न प्रजातिका चराको वासस्थानसमेत रहेको नेपालगन्ज उपमहानगरपालिका २१ र २२ को पुरैनीमा रहेको सो ताल सिमसार क्षेत्रका रूपमा पनि स्थापित हुन थालेको छ । हस्ताक्षर सङ्कलनपछि तालको संरक्षणमा सरोकार भएका निकायको ध्यान जाने विश्वास व्यक्त गर्दै बाँकेका हरित अभियन्ता हेमन्तराज काफ्लेले कान्तितालको सौन्दर्य बढाउन सके पर्यटकका लागिसमेत महत्वपूर्ण गन्तव्य भएको बताउनुभयो । 

उहाँले थप्नुभयो, “त्यहाँ विभिन्न प्रजातिका चराको वासस्थान छ, यसले पर्यटकलाई समेत लोभ्याउने गर्छ, यसको संरक्षणमा ध्यान दिने हो भने धेरै पर्यटक अकर्षित गर्न सकिने छ ।” करिब २५ बिघा क्षेत्रफलमा फैलिएको सो प्राकृतिक तालको वरिपरि उपमहानगरले इँटाको पर्खाल र त्यसमा रेलिङ लगाएको थियो । वरिपरि सात मिटर कालोपत्रे सडक, डेढ मिटर फुटपाथ र दुई मिटर पार्किङ एरिया पनि बनाइएको छ तर संरक्षणको अभावमा पर्खाल भत्काउने, इँटा चोरी गर्ने, फोहोर गर्न र मादक पदार्थ सेवन गर्ने अखडा बन्न थालेको छ । 

नेपालगन्ज उपमहानगरपालिका–२१ का वडाध्यक्ष राजकुमार साहु तेलीले कान्तितालको संरक्षणको आवश्यकता औँल्याउँदै कान्तितालमा रहेका संरचनामा क्षति भइरहेको बताउनुभयो । 

वडाध्यक्ष तेलीले त्यहाँ जडान भएका विद्युत्का संरचनासमेत चोरी हुँदा अहिले रातिमा बत्ती नबलेको उल्लेख गर्दै नेपालगन्जमा रहेको यस प्राकृतिक र ऐतिहासिक तालको संरक्षण अनिवार्य भएको बताउनुभयो । नेपालगन्जमा रहेको कान्तिताल विश्वमै दुर्लभ मानिने चरा सारसको प्रजनन स्थलसमेत भएको चराविज्ञले जनाएका छन् ।