• ९ साउन २०८२, शुक्रबार

पारिवारिक बेमेलका कारण सम्बन्धविच्छेद बढ्दै

blog

तानसेन समाचारदाता 

तानसेन, साउन ८ गते । पारिवारिक बेमेलका कारण श्रीमान्श्रीमतीबिच सम्बन्धविच्छेद हुने क्रम बढेको छ । स्वतन्त्र हुने चाहना, वैदेशिक रोजगारी र सामाजिक सञ्जालको प्रयोगले पारिवारिक बेमेल बढ्दा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको जिल्ला अदालत पाल्पाले जनाएको छ । 

अदालतका स्रेस्तेदार केशव पराजुलीले भन्नुभयो, “सम्बन्ध कायम गरेका श्रीमान्श्रीमतीबिचमा पारिवारिक बेमेल बढ्दो छ, त्यसले सम्बन्धविच्छेदका घटना बढेका छन् ।” उहाँका अनुसार गत आव २०८१/८२ मा अदालतमा दर्ता भएका कुल मुद्दामध्ये अधिकांश मुद्दा सम्बन्धविच्छेदका रहेका छन् । 

गत आवमा जिल्ला अदालत पाल्पामा कुल मुद्दा ८१५ वटा दर्ता भएकामा ४८१ वटा मुद्दा सम्बन्धविच्छेदका मात्र रहेका थिए । स्रेस्तेदार पराजुलीले त्यसमध्ये ४०४ वटा मुद्दाको फस्र्योट भएको जानकारी दिनुभयो । पछिल्लो तीन वर्षको अवधिमा ३५६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको छ । यो हरेक वर्ष बढ्दो क्रममा रहेको छ । 

उमेर नपुगी विवाह गरेका, वैदेशिक रोजगारीमा रहेका जोडीको सबैभन्दा बढी सम्बन्धविच्छेद हुने गरेको कानुन व्यवसायी बताउँछन् । कानुन व्यवसायी केशवराज अधिकारीले सम्बन्धविच्छेदलाई न्यूनीकरण गर्न उमेर पुगेपछि मात्र विवाह गर्ने र विवादलाई आपसी समझदारी गर्ने वातावरण मिलाउन आवश्यक रहेको बताउनुभयो । 

केही वर्षअघिसम्म सम्पत्ति र पारिवारिक हिंसा सम्बन्धविच्छेदको प्रमुख कारण मानिन्थ्यो । अहिले स्वतन्त्र हुने चाहनाले सम्बन्धविच्छेदका घटना बढेको कानुन व्यवसायीको भनाइ छ । पछिल्ला वर्षमा सानो कुरामा बेमेल भए स्वतन्त्र बस्न चाहनाले सम्बन्धविच्छेद गर्ने परिपाटी बढेको छ । सामाजिक सञ्जाल र वैदेशिक रोजगारीले पनि परिवारमा सम्बन्ध बिगारेको अवस्था रहेको छ । श्रीमान् विदेशमा बस्ने श्रीमतीले सामाजिक सञ्जालबाटै परपुरुषसँग प्रेममा सम्बन्ध गाँसेर विवाह गर्नेको सङ्ख्या पनि बढेको छ । 

यसैबिच जिल्ला अदालत पाल्पाले गत आव २०८१/८२ मा लक्ष्यभन्दा १०९ वटा बढी मुद्दा फस्र्योट गरेको छ । गत आवमा ७०६ मुद्दा किनारा लगाउने लक्ष्य राखेकोमा ८१५ वटा मुद्दा फस्र्योट गरी लक्ष्यभन्दा बढी मुद्दा फस्र्योट गरेको जिल्ला अदालत पाल्पाले जनाएको छ । आव २०८०/८१ बाट जिम्मेवारी सरेर आएका २७० मुद्दा र नयाँ दर्ता भएका ८१४ मुद्दा गरी जम्मा एक हजार ८४ मुद्दामध्ये ८१५ वटा मुद्दा फैसला गरिएको अदालतले जनाएको छ ।