• ९ साउन २०८२, शुक्रबार

करदाता सेवा कार्यालयद्वारा ८७ प्रतिशत राजस्व सङ्कलन

blog

करदाता सेवा कार्यालय तानसेन, पाल्पा । तस्बिर : इमान सिं राना

इमान सिं राना
रामपुर (पाल्पा), साउन ८ गते ।
करदाता सेवा कार्यालय तानसेन पाल्पाले गत आर्थिक वर्षमा लक्ष्यको ८७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा  ७० करोड २२ लाख ७२ हजार ९७० रुपियाँ सङ्कलनको लक्ष्य रहेकोमा ६० करोड ८१ लाख ९५ हजार ४७० रुपियाँ राजस्व सङ्कलन गरेको हो ।

सङ्कलन भएको राजस्व अघिल्लो आर्थिक वर्षमा भन्दा ९ दशमलव ५१ प्रतिशतले बढी रहेको छ । आर्थिक वर्ष २०८०/०८१ मा कार्यालयले ५५ करोड ५३ लाख ५७ हजार ७९० रुपियाँ राजस्व सङ्कलन गरेको थियो । सङ्कलन भएको राजस्व लक्ष्यको ७५ प्रतिशत रहेको थियो । करदाता सेवा कार्यालय पाल्पाका कर अधिकृत सन्तोष सुवेदीले गत वर्ष ७० करोड २२ लाख ७२ हजार ९७० रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ८७ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको जानकारी दिनुभयो ।

सङ्कलन भएको राजस्व कार्यालयको स्थापना पश्चात हाल सम्मको सबै भन्दा धेरै भएको बताउनुभयो । उहाँका अनुसार कार्यालयबाट आयकर तर्फ ३२ करोड ९० लाख ५२ हजार २३० रुपियाँ, मूल्य अभिवृद्धिकर तर्फ २६ करोड ९४ लाख २४ हजार २४० र अन्तशुल्कतर्फ ९७ लाख १९ हजार राजस्व सङ्कलन भएको छ ।  कार्यालयले आयकर तर्फ लक्ष्यको ७९ प्रतिशत, मूल्य अभिवृद्धिकर तर्फ लक्ष्यको ९९ प्रतिशत र अन्तशुल्कतर्फ ७६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

नागरिकलाई करप्रति सकरात्मक बनाउन स्थानीय तह तथा अन्य संघ, संस्थासँग समन्वय गरी करदाता शिक्षा सञ्चालन गर्ने, कर तिर्न बाँकी रहेका व्यवसायी तथा नागरिकलाई कर छुटको सुविधा लिनका लागि आग्रह गर्ने, आवश्यक परामर्श प्रदान गर्ने, करदातालाई समयमा कर तिर्न म्यासेज, फोन र सूचना गरेका कारण राजस्व सङ्कलनमा वृद्धि भएको कर अधिकृत सुवेदीले बताउनुभयो । उहाँले पछिल्लो समय जिल्लामा खर्च बढेकाले पनि राजस्व सङ्कलनमा वृद्धि भएको बताउनुभयो ।