सुर्खेत समाचारदाता
सुर्खेत, साउन ८ गते । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सरकारले तयार पारेको साङ्गठनिक संरचनाका बारेमा ल्याइएको प्रतिवेदनप्रति असहमति जनाउनुभएको छ ।
प्रदेश सरकारले कर्मचारी घटाउने, मन्त्रालय तथा निर्देशनालय खारेज गर्ने प्रस्तावसहितको साङ्गठनिक प्रतिवेदन बुझेको थियो । बुधबार स्वास्थ्य सेवा निर्देशनालय र मातहतका कार्यालयको आर्थिक वर्ष २०८१/८२ मा सम्पादित कार्यक्रमको प्रदेशस्तरीय वार्षिक प्रगति समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले संवैधानिक व्यवस्था, कर्णालीको भूगोल र वस्तुस्थिति प्रतिकूल भएको सो प्रतिवेदन अहिलेको अवस्थामा कार्यान्वयन हुन नसक्ने बताउनुभयो । “स्वास्थ्य संरचनाको सवाल उठाउँदै कर्मचारीको मनोबल घटाउने काम भइरहेको छ । यसको संरक्षणमा उभिन तयार रहेको छु,” मन्त्री भण्डारीले भन्नुभयो, “प्रतिवेदन यही अवस्थामा कार्यान्वयनमा जान सक्दैन । यसलाई परिमार्जन गर्न जरुरी छ । परिमार्जन भएर चित्तबुझ्दो कर्णालीको भूगोल, संवैधानिक अधिकार र थप सुदृढ हुने गरी वास्तविक प्रतिवेदन आयो भने मात्र त्यसतर्फ सोच्न सकिन्छ ।”
प्रतिवेदनमा स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई खारेज गरी स्वास्थ्य तथा शिक्षा निर्देशनालय बनाउने प्रस्ताव सो प्रतिवेदनमा उल्लेख छ । मनोबल उच्च बनाई नियमित काम थप सुदृढ गर्दै लैजान मन्त्री भण्डारीले कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले विगतका वर्षमा गरेका कामको असल अभ्यासलाई निरन्तरता दिँदै यस आवका लागि नीति तथा कार्यक्रमका प्राथमिकता, विनियोजित बजेट र कार्यक्रमलाई समयमै कार्यान्वयनमा लैजान निर्देशन दिनुभयो । अस्पतालमा बिरामीको उपचारमा कमजोरी भइरहेका खबर आउन नदिन कार्यालय प्रमुख जिम्मेवार हुन आवश्यक भएको बताउनुभयो ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले कमजोरी गर्दा समग्र सरकारप्रतिको घारणा नकारात्मक भइरहेको टिप्पणी गर्दै ड्युटी समयलाई सेवाग्राहीकेन्द्रित गर्न मन्त्री भण्डारीले सुझाव दिनुभयो । सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले गुणस्तरीय सेवा प्रवाह, प्रशासनिक सुदृढीकरणका लागि जिन्सी निरीक्षण समयमै गर्न निर्देशन दिनुभयो । साथै उहाँले खरिद योजनालाई प्रभावकारी बनाउने, कार्ययोजना बनाई काम गर्नुपर्नेमा पनि जोड दिनुभयो । कार्यक्रममा प्रदेशको स्वास्थ्य सेवा कार्यालय तथा मातहतका कार्यालयले स्वास्थ्य क्षेत्रमा गरेका काम, उपलब्धि र भोगेका चुनौतीका साथै नयाँ आवमा गर्ने योजना बनाउने जनाइएको छ ।