बेलौरी समाचारदाता
कञ्चनपुर, साउन ८ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताल पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय ताल क्षेत्रमा आकर्षक कलात्मक प्रतिमा निर्माण गरिएसँगै प्याराताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । महेन्द्रनगरबाट ८० किलोमिटर र कैलालीको धनगढीबाट झन्डै २५ किलोमिटर दुरीमा रहेको ताल वरिपरिको हरियाली र सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ । प्यारातालमा विश्वकै दुर्लभ मानिने जलचर प्राणी ओत, पहिलो धुरे प्रजातिको कछुवाको अवलोकन गर्न सकिने स्थानीय बताउँछन् ।
प्यारातालनजिक वनभोज स्थल, मयूर, गोही, माछा, ओत, कमल फूललगायतका प्रतिमा निर्माण गरिएकाले पर्यटकको आकर्षण बढ्दै गएको प्याराताल पर्यटन प्रवर्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताउनुभयो । उहाँका अनुसार स्थानीयको सक्रिय सहभागिताका कारण तालपरिसरमा प्रतिमालगायत संरचना निर्माण गर्न गत वर्ष १६ लाख आर्थिक सहयोग पनि प्राप्त भएको थियो । जसबाट प्रतिमालगायतका संरचना निर्माण गरिएको उहाँले बताउनुभयो । पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्माले तालको संरक्षणका लागि ताल क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको बताउनुभयो । जसका लागि गत आर्थिक वर्षमा ९० लाख छुट्याइएको थियो भने चालु आवमा १० लाख बजेट छुट्याइएको उहाँले बताउनुभयो । यस क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन पालिकाले तालको समुचित व्यवस्थापन गर्ने मेयर शर्माले बताउनुभयो ।
सीमाक्षेत्रमा रहेको तालको समुचित व्यवस्थापन भने गर्न नसकिएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विकले बताउनुभयो । स्थानीय सोवरण रानाले जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको बेला पर्यटकको आकर्षणको केन्द्र बनेको प्यारातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पु¥याउन प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो । झन्डै छ किलोमिटर लम्बाइ रहेको प्याराताल सय मिटरसम्मको चौडाइमा फैलिएको छ ।