भवानीदत्त भट्ट
कञ्चनपुर, साउन ७ गते । कञ्चनपुरमा सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु गरिएको छ । जिल्लाको दोधारा चाँदनी नगरपालिका–१ मा मङ्गलबारदेखि बहुप्रतीक्षित सुक्खा बन्दरगाहको प्रारम्भिक निर्माण कार्य सुरु भएको हो ।
प्रारम्भिक चरणको उद्घाटन गर्नुहुँदै नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुक्खा बन्दरगाह निर्माणपछि सुदूरपश्चिम क्षेत्र मात्र नभई सम्पूर्ण नेपालको आर्थिक समृद्धिमा योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।
गजुरेलका अनुसार रुख कटानको प्रक्रिया सम्पन्न भएसँगै भारतीय निर्माण कम्पनीले स्थल तयारी, पर्खाल निर्माण, सामग्री आपूर्ति लगायतका प्रारम्भिक कार्यहरू थालनी गरिएको छ । भारतसँगको आयात मात्र नभइ तेस्रो मुलुकमा निर्यात गर्न बन्दरगाह उपयोग गर्न सकिने उहाँले बताउनुभयो ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुँदै गरेको यो परियोजनामा दुई अर्ब ५४ करोडभन्दा बढी भारतीय रुपियाँ खर्च हुने अनुमान गरिएको छ । बन्दरगाह ४२.३६ हेक्टर क्षेत्रफलमा फैलिएको छ, जसअन्तर्गत पहिलो चरणमा २५.०३ हेक्टरमा दुई गोदाम, भन्सार, क्वारेन्टाइन, इमिग्रेसन र सुरक्षा भवनजस्ता पूर्वाधार निर्माण गरिनेछ ।
यस अघि गौरशङ्कर सामुदायिक वन क्षेत्रमा १ हजार ७०५ रुख हटाइएपछि परियोजना अघि बढाइएको हो । नेपाल–भारतबीच २०२३ जुन १ मा सम्झौता भएपछि यो निर्माण प्रक्रिया अघि बढाइएको हो । परियोजनाको औपचारिक शिलान्यास भने दुवै देशका प्रधानमन्त्रीहरूले संयुक्त रूपमा गर्नेछन् ।