• १७ असार २०८१, सोमबार

दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन : नेत्री आरजु देउवा

blog

नेपाल तरुण दल कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रममा सम्बोधन गर्नुहुँदै कांग्रेस नेत्री डा. आरजु देउवा । तस्बिर : रमेश पौडेल

 रमेश पौडेल 

पोखरा, असार ६ गते । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले राजनीतिक पार्टीका नेताहरुले चुनाव केन्द्रित नभई समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्ने बताउनुभएको छ । 

राजनीति समाज परिवर्तन मूल नीति भएकाले यसलाई सकारात्मक दिशाातर्फ लैजान जोड दिँदै नेत्री डा. देउवाले दलीय प्रणालीभन्दा बाहिरबाट जनताको सेवा गर्न कठिन हुने भएकाले दलको आवश्यकता रहेकोसमेत बताउनुभयो । 


नेपाल तरुण दल कास्कीद्वारा पोखरामा सोमबार आयोजित विपत् व्यवस्थापन, नागरिक सेवामा तरुण दलको भूमिका एवम् निर्वाचित जनप्रतिनिधिलाई बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनताको मन जित्ने गरी काम गर्न जनप्रतिनिधिलाई सुझावसमेत दिनुभयो । 

उहाँले सुशासन र जनपक्षीय काम नै जननिर्वाचित जनप्रतिनिधिको भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । राजनीतिमा अहिले आकर्षण बढ्दै गएको छ, स्वतन्त्र रुपमा चुनाव लड्नेहरुबाट पनि प्रस्ट हुन्छ तर उहाँहरु अब संस्थागत हुनुपर्छ भन्ने धारणा पनि उहाँको छ । हुन त स्वतन्त्रबाट लडेर चुनाव जितेकाहरुको काम हेर्न बाँकी  छ, उहाँहरुको मूल्याङ्कन जनताले गर्ने पनि नेत्री देउवाले बताउनुभयो । 

प्रधानमन्त्री पत्नीसमेत रहनुभएकी नेत्री देउवाले स्थानीय तहको निर्वाचनमा काठमाडौंको प्रमुखमा वालेन्द्र साहले चुनाव जितेपछि स्वतन्त्र उम्मेदवार बन्नेहरुको लहरै चलेको उल्लेख गर्नुभयो । डा. देउवाले भन्नुभयोे, ‘‘जति पनि स्वतन्त्रले जितेका छन् उनीहरूसँग फरक फरक क्षमता हुनसक्छ । त्यो क्षमता पहिचान स्वयम्ले गर्नुपर्ने हुन्छ । म कुन पेशाका लागि ठीक छु भन्ने नबुझेसम्म व्यक्ति सफल नहुन सक्छ । अबको पुस्ताले यसतर्फ ध्यान दिनु जरुरी छ ।’’ 

विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउनु आवश्यक छ तर आफूलाई राजनीतिक सुशासनबारे चिन्ता लागेको पनि उहाँले चर्चा गर्नुुभयो । 

नेत्री डा. देउवाले भन्नुभयो, ‘‘स्थानीय तहमा बसेर काम गर्न गाह्रो छ, त्यसैले जनप्रतिधिले सावधानीपूर्वक सचेत भएर काम गर्नुपर्छ । गएको निर्वाचनमा उम्मेदवारी दोहो¥याएका सबै दलका जनप्रतिनिधिहरु सोचेअनुरुप निर्वाचित हुन नसक्नुमा उहाँहरुको काम, क्षमता र लोकप्रियता जनताले मापन गरेको नै प्रमुख कारण हुनसक्छ ।’’

डा. देउवाले प्रधानमन्त्री हुन सजिलो भए पनि काम गर्न गाह्रो भएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा मुलुकमाा ५ पटक प्रधानमन्त्री हुनुभएको तर जनचाहनाअनुसार काम गर्न कठिन भएको औँल्याउनुभयो ।

पदमा पुगेपछि सोचे अनुसार काम गर्न कठिन हुने सन्दर्भ औँल्याउँदै डा. देउवाले भन्नुभयो, ‘‘पद पाउन सजिलो छ तर त्यहाँ बसेर काम गर्न बोलेजति सजिलो हुँदैन । हामीले सयको गतिमा काम गर्न खोजे पनि कर्मचारीतन्त्रले कानुनी प्रक्रिया देखाइ दसको गतिमा मात्र काम गर्ने गरेको छ  । अहिलेको गठबन्धनको सरकार हो । सबैका चाहना, सबैका विचार हुन्छन् । त्यसलाई मिलाएर लैजान चुनौती छ ।’’ 

प्रधानमन्त्री देउवालाई पनि उठेदेखि सुत्नेबेलासम्म फुर्सद नहुने गरेको आफूले नजिकबाट देखेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘उठेदेखि सुतेसम्म त्यो घोडालाई दौडाएजस्तै दौडाएको छ, दौडाएको छ । मिटिङ, सेमिनार, राजदूत, मन्त्री, को को हो के हो ।’’

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पार्टीले दिएको निर्देशन तरुणहरुले पालना गरेको उल्लेख गर्नुभयो । उहाँले तरुणहरु जनताको दुःखसुखमा सदा साथ रहने बताउँदै आवश्यक परे किसानको हलो जोत्न पछि नपर्ने बताउनुभयो । 


कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगाना, गण्डकी प्रदेशका शिक्षा संस्कृति तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री कुमार खड्का, सञ्चारमन्त्री बिन्दुकुमार थापा, कांग्रेस कास्की सभापति किशोरदत्त बराल, तरुण दलका पूर्व केन्द्रीय सदस्य ऋषि काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङलगायतले आगामी चुनावमा कांग्रेसलाई पहिलो दल बनाउन लाग्नुपर्ने विचार राख्नु भएको थियो ।  सो अवसरमा कास्कीबाट गत ३० वैशाखको चुनावमा निर्वाचित जनप्रतिनिधिलाई बधाईका साथ सम्मान गरिएको थियो ।