• ६ साउन २०८२, मङ्गलबार

ढल्केबर–चन्दनपुर सडक स्तरोन्नति हुने

blog

ढल्केबर–चन्दनपुर मार्ग अवलोकन गर्नुहुँदै मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत स्थानीय । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन ६ गते    । वर्षौंदेखि उपेक्षित धनुषाको ढल्केबर र सिन्धुलीको चन्दनपुर जोड्ने ११ किलोमिटर सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रमा उत्साह छाएको छ । मधेश प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि दुई करोड ७० लाख रुपियाँ विनियोजन गरेसँगै यस क्षेत्रमा नयाँ उत्साह छाएको हो । यो सडकलाई तराई र पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा हेरिएको छ । 

ढल्केबरका स्थानीय सन्तोष महतोले यो सडक स्तरोन्नति हुने खबरले ढल्केबरलगायत सखुवा बजार र जनकपुरका उद्योगी–व्यवसायी निकै उत्साहित भएको बताउनुभयो । उहाँले वर्षौंदेखि उपेक्षित यो मार्गको स्तरोन्नतिले पहाडी जिल्लाका बासिन्दालाई पनि ठुलो फाइदा पुग्ने  विश्वास व्यक्त गर्नुभयो ।

उहाँका अनुसार धेरै पहिले सिन्धुली, रामेछापलगायतका पहाडी जिल्लाका मानिस यसै मार्गबाट पैदल तथा घोडा चढेर तराई आउजाउ गर्थे । उनीहरूले पहाडबाट घरेलु जडीबुटी, तेजपात, अमला जस्ता सामान ल्याएर ढल्केबर, सखुवा बजार र जनकपुरमा बिव्रmी गर्थे । त्यस्तै यहाँबाट खाद्यान्न र लत्ताकपडा जस्ता आवश्यक सामान किनेर फर्कने गर्थे । त्यस समयमा यस क्षेत्रको थोक तथा खुद्रा व्यापार निकै फस्टाएको थियो तर धरान–सिन्धुली–हेटौँडा मदन भण्डारी राजमार्ग सञ्चालनमा आएपछि भने यो बाटो प्रयोग गर्नेको सङ्ख्या निकै घटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “पहाडी क्षेत्रका बासिन्दा सवारीसाधनको सुविधा प्राप्त भएपछि भिमान र सिन्धुलीका बजारमा निर्भर हुन थालेका छन् । जसले गर्दा तराई र पहाडबिचको ऐतिहासिक सम्बन्ध कमजोर बन्न पुगेको छ ।” 

ढल्केबरका व्यवसायी दीपक लामाले केही वर्षअघिसम्म सिन्धुलीको हत्पतेमा अवस्थित प्रसिद्ध लङ्गुर बाबाधाम महादेव मन्दिरमा दर्शनका लागि यही बाटो भएर पैदल जाने गरेको स्मरण गर्दै सडक सुविधासँगै तराईका दर्शनार्थी बर्दीवास हुँदै हत्पते पुग्न थालेको बताउनुभयो । यो सडकको स्तरोन्नतिले पुनः यो मार्ग सञ्चालनमा आएपछि पहिलेको अवस्थामा फर्कने उहाँको भनाइ छ । 

उहाँले मिथिला नगरपालिकाका नगरप्रमुख महेन्द्र महतोको अथक प्रयासबाट यो बाटोको स्तरोन्नति हुन लागेको बताउँदै यो बाटोको स्तरोन्नति भएपछि सवारीसाधन प्रयोग गरेर १० मिनेटमै तराईको भूभागबाट पहाडको डाँडामा पुग्न सकिने बताउनुभयो । व्यवसायी दीपकका अनुसार सडक बनेपछि केवल आवागमनमा मात्र सहजता हुँदैन, व्यापार, कृषि उत्पादनको बजार पहुँच, पर्यटन र स्थानीय रोजगारीको अवसरसमेत सिर्जना हुने छ ।

नगरप्रमुख महेन्द्र महतोले नगरपालिकाको नेतृत्व समालेदेखि नै यो बाटोलाई स्तरोन्नति गरी तराई र पहाडलाई जोड्ने योजना बनाएको बताउनुभयो । यो बाटो सवारीसाधन गुड्न योग्य भएपछि हलेसी, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा पुग्नसमेत सहज हुने छ । यो सडक स्तरोन्नतिले यस क्षेत्रको आर्थिक गतिविधिमा वृद्धि हुनुका साथै मधेश र पहाडबिचको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पनि थप बलियो बनाउने उहाँको भनाइ छ ।