चितवन समाचारदाता
घुमाउने (चितवन), साउन ५ गते । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेबाट तनहुँ जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण नहुँदै डिजाइन परिवर्तनका लागि अगाडि बढाइएको छ । दमौली जोड्ने छोटो बाटोका लागि त्रिशूली नदीमाथि निर्माण गर्न १२ वर्षअगाडि सम्झौता भएको थियो । दुई वर्षदेखि तनहुँ र चितवनतर्फ दुई वटा पिल्लर निर्माण गरेपछि काम रोकिएको थियो ।
गत वर्ष असोजमा आएको बाढीले अनुमान गरेभन्दा माथिको सतहमा असर गरेपछि डिजाइन परिवर्तनका लागि सडक विभागमा प्रारम्भिक नक्सा पेस गरिएको छ । सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी राजेन्द्र कार्कीले गत असोजमा आएको बाढीले अनुमानित सतह पार गरेपछि डिजाइन परिवर्तनका लागि प्रव्रिmया अगाडि बढेको जानकारी दिनुभयो ।
सूचना अधिकारी कार्कीले भन्नुभयो, “दुई वटा पिल्लर मात्र निर्माण भएको छ । हिउँदमा आर्कको काम अगाडि बढाउने तयारी थियो तर गत असोजमा आएको बाढीमा अनुमान गरेभन्दा माथिबाट पानीको सतह आयो । त्यसपछि डिजाइन परिवर्तनका लागि प्रव्रिmया अगाडि बढेको हो ।”
पहिलाको डिजाइन अनुसार मुग्लिङमा निर्माण भएको जस्तै पुल निर्माणका लागि डिजाइन भएको उहाँले बताउनुभयो । “आर्कका लागि बेस भएको स्थानमै बाढीले असर गरेपछि डिजाइन परिवर्तन गर्नैपर्ने भयो,” सूचना अधिकारी कार्कीले भन्नुभयो । असोजपछि धेरै अध्ययन गरेपश्चात् गत वैशाखमा निर्माण कम्पनीले डिजाइन परिवर्तनको प्रस्ताव पेस गरेको थियो । सडक विभागमा प्रस्ताव पेस गर्दा परिवर्तित डिजाइनको लागत सरकारले बेहोर्नुपर्ने उल्लेख गरेको थियो तर सडक विभागले स्वीकार नगरेपछि निर्माण कम्पनीकै लगानीमा परिवर्तित डिजाइन पेस गरिएको सूचना अधिकारी कार्कीले बताउनुभयो ।
अहिले निर्माण भएको पिल्लरमा थप उचाइ गरेर स्टिलको संरचनामा पुल बन्ने गरी डिजाइन पेस गरेको उहाँले बताउनुभयो । “जेठमा पेस गरेको डिजाइनलाई नै स्वीकृति दिने गरी अध्ययन भएको छ,” कार्कीले भन्नुभयो, “विसं २०८३ असार मसान्तसम्म पुल निर्माण पूरा गर्ने गरी म्याद थप भएको छ ।” उहाँका अनुसार अहिले निर्माण भएको पिल्लरमा थप उचाइ गरेर स्ल्याब राख्ने गरी पुलको डिजाइन भएको छ । परिवर्तित डिजाइनलाई स्वीकृति दिएपछि निर्माणको काम अगाडि बढ्ने छ । यो हिउँददेखि काम गर्ने गरी प्रव्रिmया अगाडि बढेको कार्कीले जानकारी दिनुभयो ।
चितवनको घुमाउनेबाट दमौली जान छोटो मार्ग हुने भएकाले यो सडक निर्माण गरिएको हो । सडक बने पनि त्रिशूली नदीमा पुल नबनेका कारण आवागमन हुन सकेको थिएन । दमौलीबाट दक्षिणपूर्व हुँदै मुग्लिङ–नारायणगढ सडकको घुमाउनेमा जोडिन्छ । मुग्लिङबाट दमौली जानभन्दा घुमाउनेबाट जाँदा १० किलोमिटर दुरी छोटो पर्छ । पहाडी क्षेत्रका बस्तीलाई सडक सञ्जालसँग जोड्न र वैकल्पिक राजमार्ग निर्माणको काम सुरु गरिएको थियो । वैकल्पिक राजमार्ग अन्तर्गत यो सडक जोड्न घुमाउनेमा २०७० असार २८ गते पुल निर्माण गर्न ठेक्का सम्झौता भएकोमा सम्झौताबमोजिम काम हुन नसकेपछि म्याद थप गरिँदै आएको थियो ।
सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी कार्कीले ठेकेदारलाई धेरै ताकिता गरेर काम गर्न लगाएको बताउनुभयो । उहाँका अनुसार भौतिक प्रगति ४० प्रतिशत सकिएको छ । सुरुमा ठेक्का सम्झौता भएपछि काम हुन सकेन । यसअगाडि पनि डिजाइन परिवर्तन गरिएको थियो । यो पुलको लम्बाइ १०५ मिटर रहेको छ । गत वर्ष पुलका दुवैतर्फ पिल्लर निर्माण भइसकेको छ । तनहुँ र चितवनतर्फ दुई वटा अग्ला पिल्लर मात्रै निर्माण भएका छन् । कुल ११ मिटर चौडाइ रहने पुलको यातायात गुड्ने भाग नौ मिटरमा भने दोहोरो सवारीसाधन चलाउन मिल्ने बनाइने छ । पुल निर्माणपछि नारायणगढ हुँदै पोखरा जान आएका सवारीसाधन मुग्लिङ नपुग्दै यही मार्गबाट दमौली निस्कन सक्ने छन् ।
पुलको जम्मा लागत १० करोड २१ लाख ८६ हजार ५५१ रुपियाँमा मृत सञ्जीवनी मकवानपुरले ठेक्काको सम्झौता गरेको हो । पुल निर्माणपछि बुद्धसिंह मार्ग भएर दमौली जान सकिने हुँदा यस क्षेत्रका बासिन्दाका लागि छोटो मार्ग निकै उपयोगी हुने देखिएको छ ।