गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन ५ गते । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि सञ्चालन गरेको प्रवेश परीक्षामा १० हजार ८६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षाको उत्तरपुस्तिका ओएमआर (अप्टिकल मार्क रिडर) प्रणालीबाट परीक्षण गरिएकाले एक दिनमै नतिजा सार्वजनिक गरिएको महानगरपालिकाको सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले बताउनुभयो । उत्तीर्ण विद्यार्थीले शैक्षिक सत्र २०८२/८३ का लागि महानगरपालिकाभित्र सञ्चालित संस्थागत शिक्षण संस्थामा छात्रवृत्तिमा अध्ययन गर्न पाउने छन् ।
छात्रवृत्ति परीक्षामा उत्तीर्ण भएकामध्ये मेरिटको आधारमा करिब चार हजारले निजी तथा संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गर्न पाउने छन् । परीक्षामा सहभागी हुन १७ हजार २२९ जनाले आवेदन दिएका थिए । जसमध्ये १६ हजार १३७ विद्यार्थी परीक्षाका लागि छनोट भएका थिए ।
शिक्षा नियमावली २०६७ (आठौँ संशोधन) मा निजी तथा संस्थागत स्कुलले कुल विद्यार्थी स्ख्याको कम्तीमा १० प्रतिशत नघटाई गरिब, अपाङ्ग, महिला, दलित र जनजाति विद्यार्थीलाई छात्रवृत्ति दिने व्यवस्था गरिएको थियो । अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा निजी लगानीका विद्यालयले पाँच सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १० प्रतिशत, पाँच सयदेखि आठ सय जनासम्म विद्यार्थी भएका विद्यालयले कम्तीमा १२ प्रतिशत र आठ सयभन्दा बढी विद्यार्थी सङ्ख्या भएका विद्यालयले कम्तीमा १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरेको छ ।